उपत्यकामा एकैदिन दुई हजार बढी सवारीचालक कारबाहीमा: २१ लाख बढी राजस्व संकलन
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ३६५ जना सवारीचालकलाई कारबाही गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गरिएको नियमित तथा विशेष चेकिङका क्रममा उनीहरूलाई कारबाही गरिएको हो । यस कारबाहीबाट एकैदिन राज्यकोषमा २१ लाख ७७ हजार ५०४ रुपैयाँ राजस्व दाखिला भएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै अन्य विविध नियम पालना नगर्ने एक हजार १२१ जना रहेका छन् । यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २५८, तीव्र गतिमा सवारी चलाउने १७४ र एकतर्फी सडक (वान-वे) मा सवारी हुइँक्याउने १६३ जना चालक कारबाहीमा परेका छन् । ट्राफिक सङ्केत बत्ती (ट्राफिक लाइट) को बेवास्ता गर्ने १५६, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा अव्यवस्थित पार्किङ गर्ने १२४ र लेन अनुशासन पालना नगर्ने १२३ जनालाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई जरिवाना गराएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण मानिने मादकपदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८८ जना चालकलाई पनि कारबाही गरिएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न नियमित रूपमा यस्तो कडा जाँच र कारबाही प्रक्रियालाई निरन्तरता दिइने कार्यालयले स्पष्ट पारेको छ ।







डिसी नेपाल







Facebook Comment