इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेको पक्राउप्रति चार बैंकिङ संगठनको गम्भीर आपत्ति

डिसी नेपाल
३१ वैशाख २०८३ १३:१२

काठमाडाैं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउलाई लिएर बैंकिङ क्षेत्रका प्रमुख चार संगठनहरूले कडा विरोध जनाएका छन्।

आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो।

बैंकिङ क्षेत्रका छाता संगठनहरूले बैंक तथा वित्तीय संस्थाहरू प्रचलित ऐन र नेपाल राष्ट्र बैंकको कडा निर्देशनमा चल्ने संस्था भएको स्मरण गराउँदै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को व्यवस्था अनुसार कर्जा असुली गर्नु सीईओको मुख्य दायित्व रहेको स्पष्ट पारेका छन्। ऐनको दफा ५७ ले बैंकलाई कर्जा असुलीको विशेष अधिकार दिएको उनीहरूको तर्क छ।

विज्ञप्तिमा भनिएको छ, “सर्वसाधारणको निक्षेप र जनविश्वासमा चल्ने बैंक जस्तो संवेदनशील संस्थाको नेतृत्वलाई कर्जा असुलीकै कारण पक्राउ गर्दा बैंकको साख र समग्र वित्तीय स्थायित्वमा नै नकारात्मक असर पर्न सक्छ।”

संगठनहरूले अनुसन्धानका क्रममा ‘पहिले सुन अनि थुन’ भन्ने कानुनी सिद्धान्तलाई पालना गर्न आग्रह गर्दै बैंकको गरिमा र उच्च पदस्थ कर्मचारीको मर्यादालाई ख्याल गर्न माग गरेका छन्। उनीहरूले पाण्डेलाई तत्काल थुनाबाहिर राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग अपिलसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *