मध्यपूर्वको नयाँ समीकरण: साउदीको सुरक्षाका लागि पाकिस्तानी सेना मैदानमा
इस्लामावाद। इरानको सम्भावित आक्रमणबाट साउदी अरेबियाको रक्षा गर्न पाकिस्तानले ठूलो संख्यामा सैनिक, लडाकु विमान र अत्याधुनिक हवाइ रक्षा प्रणाली पठाएको छ।
अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेकै बेला पाकिस्तानले साउदीसँगको आपसी रक्षा सम्झौता अनुरूप सैन्य सहयोगलाई तीव्र पारेको हो।
साउदीमाथि थप आक्रमण भएमा त्यहाँको सेनालाई मद्दत गर्न पाकिस्तानले युद्ध-सक्षम सैन्य बल पठाएको समाचार संस्था रोएटर्सले सुरक्षा अधिकारी र सरकारी स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।
यस सैन्य तैनाथी अन्तर्गत पाकिस्तानले गत अप्रिलको सुरुमा चीनसँग मिलेर संयुक्त रूपमा निर्माण गरेका जेएफ-१७ लडाकु विमानहरू सहित करिब १६ वटा विमानको पूर्ण स्क्वाड्रन साउदीमा खटाएको छ। यसका साथै ड्रोनका दुईवटा स्क्वाड्रन र चीनमा बनेको एचक्यु-९ हवाइ रक्षा प्रणाली समेत साउदी पठाइएको छ।
यो बन्दोबस्तमा करिब आठ हजार सैनिक समावेश छन् भने आवश्यक परेमा थप सैन्य बल पठाउने प्रतिबद्धता समेत पाकिस्तानले व्यक्त गरेको छ। यी सबै सैन्य उपकरणहरू पाकिस्तानी प्राविधिक तथा कर्मचारीहरूद्वारा नै सञ्चालन गरिनेछन् र यसको सम्पूर्ण खर्च साउदी अरेबियाले बेहोर्ने छ।
तेल खानी र व्यापारका कारण धनी बनेको साउदी अरेबियाले लामो समयदेखि पाकिस्तानलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ। गत सेप्टेम्बरमा यी दुई देशबीच एक राष्ट्रमाथि गरिएको हमलालाई दुवैमाथिको आक्रमण मानिने गरी आपसी रक्षा सम्झौता भएपछि पाकिस्तान औपचारिक रूपमा साउदीको सैन्य मामिलामा जोडिएको हो।
साउदीमा यसअघि नै करिब १० हजार पाकिस्तानी सैनिक उपस्थित रहँदै आएका थिए। अमेरिका र इसराइलले आक्रमण गरेपछि क्रुद्ध बनेको इरानले साउदीसहित अन्य खाडी राष्ट्रहरूमा लगातार प्रहार गरेपछि साउदीको सुरक्षा सुनिश्चित गर्न पाकिस्तानले यो थप कदम चालेको हो।
अमेरिका-इरान युद्धको सुरुवातदेखि नै इरानले साउदी लगायतका छिमेकी मुलुकहरूमा निरन्तर प्रहार गरिरहेको अवस्थामा पाकिस्तानले हालका लागि रक्षात्मक रूपमा मात्रै साउदीलाई सहयोग गरिरहेको छ। तर, यदि साउदी अरेबिया आफैं प्रत्यक्ष रूपमा युद्धमा सहभागी भएमा रक्षा सम्झौताका कारण पाकिस्तानमाथि पनि युद्धमा सामेल हुन साउदीको ठूलो दबाब पर्न सक्छ।
यही रणनीतिक जोखिमलाई मध्यनजर गर्दै पाकिस्तानले एकतर्फ सैन्य सुरक्षा दिइरहेको छ भने अर्कोतर्फ युद्ध पूर्ण रूपमा अन्त्य गराउन अमेरिका र इरानबीच सक्रियतापूर्वक मध्यस्थताको प्रयास गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment