अर्थमन्त्री नदेखिएपछि संसद्‍मा अमरेश सिंह आक्रोशित

डिसी नेपाल
५ जेठ २०८३ १४:५२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/८४ को प्रि-बजेट (विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता) माथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै कडा असन्तुष्टि जनाएका छन्।

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल मात्र उपस्थित थिए। आफ्नो २० वर्षको लामो संसदीय अभ्यासमा पहिलोपटक अर्थमन्त्रीविना नै प्रि-बजेट जस्तो गम्भीर विषयमा छलफल भएको देखेको भन्दै सांसद सिंहले कडा आपत्ति जनाए।

नयाँपन र परम्परा तोड्ने नाममा स्थापित संसदीय पद्धति भत्काउँदै जाँदा संसद्को औचित्य नै समाप्त हुने भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे।

बैठकमा आक्रोश पोख्दै सांसद सिंहले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि सदनमा बस्ने स्थापित परम्परा छ। परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन। हामी पाँचौँ पटकका सांसद यहाँ छौँ, यसरी सबै परम्परा भत्काउँदै गयौँ भने यो संसद्को औचित्य नै समाप्त हुन्छ।’

उनले संसद्को आसनबाटै सरकारलाई र्‍याखर्‍याख्ती पार्दै थपे, ‘२० वर्षको कार्यकालमा म पहिलोपटक देख्दै छु, अर्थमन्त्रीविना प्रि-बजेट छलफल भइरहेको छ। यो कस्तो परम्पराको सुरुवात हुँदै छ? नयाँको नाममा सबै चिज भत्काउने होइन। नयाँको नाममा सबै भत्काउने नै हो भने सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री र मन्त्री पद पनि भत्काऔँ, सबै चिजहरू परिवर्तन गरौँ। तर, त्यो औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्त भए पनि एक-दुई दिनको बजेट छलफलमा अर्थमन्त्री संसद्‍मा बस्नुपर्छ।’

यसका साथै, सांसद सिंहले बजेट विनियोजनको सिद्धान्त र प्राथमिकतामा मधेशका एजेन्डाहरूलाई पूर्ण रूपमा उपेक्षा गरिएको आरोप लगाए। सबैभन्दा बढी जनमत दिएर सरकार बनाएको मधेशका लागि बजेटको प्राथमिकतामा केही पनि नसमेटिएको भन्दै उनले सरकारसमक्ष तीव्र गुनासो र आक्रोश व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *