स्ट्यानफोर्ड विश्वविद्यालयमा डायस्पोरा नीति संवाद सम्पन्न, नेपालको विकासमा ज्ञान र सीप परिचालन गर्न रोडम्याप बनाइने
क्यालिफोर्निया (अमेरिका)। अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयमा ‘नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप र प्रतिभा परिचालन गर्ने नीतिगत रोडम्याप’ विषयक एक महत्त्वपूर्ण संवाद तथा कार्यशाला कार्यक्रम सम्पन्न भएको छ।
ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (जीएनपीएन) द्वारा आयोजित उक्त कार्यक्रममा नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) का संस्थापक तथा अध्यक्ष डा. खगेन्द्र राज ढकाल प्रमुख वक्ताका रूपमा आमन्त्रित थिए।
तीन घण्टासम्म चलेको सो संवादमा सान फ्रान्सिस्को बे एरियाका साथै अन्य क्षेत्रबाट नेपाली मूलका पेशाकर्मी, प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता, उद्यमी, प्रविधिविज्ञ, विद्यार्थी, सञ्चारकर्मी, नेपालका कन्सुल कार्यालयका प्रतिनिधि तथा नीति क्षेत्रमा चासो राख्नेहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालले केवल रेमिटेन्समा मात्र केन्द्रित नभई विश्वभर रहेका नेपालीहरूको बौद्धिक क्षमता, व्यावसायिक अनुभव र प्रतिभालाई देशको विकाससँग कसरी संरचित रूपमा जोड्न सक्छ भन्ने विषयमा गम्भीर छलफल गरिएको थियो।
कार्यक्रमको सुरुवात गर्दै जीएनपीएनका वर्तमान अध्यक्ष निले श्रेष्ठले सन् २००६ मा संस्था स्थापना भएदेखि नै नेपालको नीति निर्माण र विकासमा योगदान पुर्याउन सक्ने विज्ञहरूलाई आमन्त्रण गरी बहस चलाउँदै आएको स्मरण गरे।
उनले यसअघि डा. स्वर्णिम वाग्ले, डा. विश्व पौडेल र महावीर पुनलगायतका व्यक्तित्वहरूलाई आमन्त्रण गरिसकिएको जानकारी दिँदै डा. ढकालको अमेरिका भ्रमणको अवसर पारेर स्ट्यानफोर्डमा यो संवाद आयोजना गर्न पाउँदा खुसी व्यक्त गरे। कार्यक्रमको सञ्चालन जीएनपीएनकी निशा थापाले गरेका थिए।
उद्घाटन प्रस्तुति सत्रमा डा. ढकालले डायस्पोराको ज्ञान र प्रतिभा परिचालनबारे आफ्नो दृष्टिकोण राखेपछि सहभागीहरूलाई पाँचवटा विषयगत समूहमा विभाजन गरी व्यावहारिक नीति निर्माणका लागि अन्तरक्रियात्मक कार्यशाला सञ्चालन गरिएको थियो।
कार्यशालामा नीति तथा सुशासन, अनुसन्धान तथा विश्वविद्यालय, नवप्रवर्तन तथा उद्यमशीलता, युवा नेतृत्व तथा मेन्टरसिप, र डिजिटल तथा नागरिक संलग्नता गरी पाँचवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर उत्साहपूर्वक नीतिगत विचारहरू आदानप्रदान गरिएका थिए।
विगत १५ वर्षदेखि थाइल्यान्डस्थित किङ मोङकुट्स युनिभर्सिटी अफ टेक्नोलोजी नर्थ बैंककमा प्राध्यापनरत डा. ढकालले विश्वभर छरिएका नेपालीहरूको बुद्धि, सिर्जनशीलता र प्रतिबद्धतालाई प्रभावकारी रूपमा जोड्न सक्ने विश्वसनीय प्रणाली निर्माण गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताए।
उनले एनपीआई फेलो लिजा महर्जनद्वारा अमेरिका, बेलायत र अस्ट्रेलियामा गरिएको हालैको अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुत गर्दै झन्डै ७० प्रतिशत डायस्पोरा नेपालका लागि योगदान गर्न इच्छुक भए पनि स्पष्ट मार्ग वा संस्थागत संयन्त्र नहुँदा केवल २० प्रतिशत मात्र अर्थपूर्ण रूपमा संलग्न हुन सकेको तथ्य औंल्याए।
सो अवसरमा उनले वर्तमान परराष्ट्रमन्त्री माननीय शिशिर खनालले डायस्पोरा ज्ञान नेटवर्कलाई संलग्न गराउने विषयमा गहिरो चासो व्यक्त गरेकाे र डायस्पोरा समुदायबाटै प्रत्यक्ष सिफारिस सुन्न इच्छुक रहेको जानकारी समेत दिए। सहभागीहरूले पनि नेपालको बृहत्तर राष्ट्रिय विकासका लागि डायस्पोरालाई रणनीतिक साझेदारका रूपमा स्वीकार गर्दै संरचित नीतिगत ढाँचा आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यशालाको समापन गर्दै डा. ढकालले जीएनपीएनका प्रतिनिधिहरूलाई एनपीआई–जीएनपीएन संयुक्त पोलिसी टास्क फोर्समा सहभागी हुन आह्वान गरे। यो कार्यदलले डायस्पोरा पेशाकर्मी, नेपालका संस्थाहरू र सरकारी सरोकारवालाहरूलाई जोड्ने दुवै पक्षका लागि लाभदायी ‘डायस्पोरा नलेज रिक्यापिटलाइजेसन फ्रेमवर्क’ तथा सञ्चालन रोडम्याप तयार गर्ने लक्ष्य राखेको छ।
यससम्बन्धी अवधारणा पत्रको प्रारम्भिक मस्यौदा आगामी दुई साताभित्र तयार गरी यो संवादलाई विश्वभरका नेपाली ज्ञान नेटवर्कहरूमा विस्तार गरिने डा. ढकालले जानकारी दिए। जीएनपीएन र एनपीआईले यो पहललाई पूर्ण रूपमा गैर-दलीय नीति संवाद तथा ज्ञान कूटनीतिको प्रयास भएको स्पष्ट पार्दै यसले नेपालको नीति विकासमा रचनात्मक योगदान पुर्याउने र व्यापक अन्तर्राष्ट्रिय संवादको ढोका खोलेको बताएका छन्।







डिसी नेपाल







Facebook Comment