सन् १९९६ को विमान दुर्घटना प्रकरण: क्युबाका पूर्वनेता राउल क्यास्ट्रोमाथि अमेरिकाद्वारा हत्याको अभियोग
काठमाडौं। संयुक्त राज्य अमेरिकाले क्युबाका पूर्वनेता ९४ वर्षीय राउल क्यास्ट्रो र अन्य पाँच जनामाथि अमेरिकी नागरिकको हत्या गरेको अभियोग दर्ता गरेको छ।
सन् १९९६ मा क्युबा र फ्लोरिडाबीचको आकाशमा ‘ब्रदर्स’ नामक क्युबाली-अमेरिकी समूहसँग आबद्ध दुईवटा विमान खसालिएको घटनालाई लिएर अमेरिकाले यो कानुनी कदम चालेको हो। उक्त ऐतिहासिक घटनामा तीन अमेरिकी नागरिकसहित चार जनाको मृत्यु भएको थियो।
बुधवार मायामीस्थित फ्रीडम टावरमा बोल्दै कार्यवाहक अमेरिकी महान्यायाधिवक्ता टड ब्लान्चले क्यास्ट्रोमाथि विमान ध्वस्त पारेको र नागरिकहरूको मृत्युको सम्बन्धमा हत्यासम्बन्धी चारवटा छुट्टाछुट्टै अभियोग लगाइएको घोषणा गरे।
घटनाका बखत क्युबाली सशस्त्र फौजका प्रमुख रहेका क्यास्ट्रोविरुद्धका यी अभियोगहरू प्रमाणित भएमा अमेरिकी अदालतले आजीवन कारावासको सजाय सुनाउन सक्ने कानुनी व्यवस्था छ। “संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरूलाई बिर्सनुभएको छैन र बिर्सनुहुने छैन,” ब्लान्चले भने।
क्युबामाथि राजनीतिक र आर्थिक सुधारका लागि वासिङ्टनले दबाब बढाउँदै लगेका बेला अमेरिकी कानुन मन्त्रालयले यो कदम चालेको हो। यसैबीच, क्युबाका राष्ट्रपति मिगेल डिआस कानेलले अमेरिकी अभियोगहरूलाई “कुनै कानुनी आधार नभएका राजनीतिक चालबाजी” को संज्ञा दिएका छन्।
राष्ट्रपति कानेलले अमेरिकाले तथ्यहरू तोडमोड गरेको आरोप लगाउँदै क्युबाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने समुद्री क्षेत्रमा वैध आत्मरक्षाको अधिकार मात्र प्रयोग गरेको दाबी गरे।
विशेषज्ञहरूका अनुसार अमेरिकाले क्युबाको कम्युनिस्ट सरकारलाई झुकाउन र मोलमोलाइको टेबुलमा आत्मसमर्पण गराउन रणनीतिक रूपमा दबाब बढाउँदै लगेको छ। हाल अमेरिकाले क्युबामाथि कडा आर्थिक प्रतिबन्ध र तेल नाकाबन्दी लगाएको छ, जसका कारण क्युबामा चरम खाद्यान्न अभाव र बिजुली कटौतीको संकट निम्तिएको छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबिओले क्युबाको स्वतन्त्रता दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिका र क्युबाबीच एउटा नयाँ मार्ग प्रस्ताव गरिरहेको उल्लेख गरेका छन्।
विदेशमन्त्री रुबिओले क्युबाली सेनाको व्यावसायिक संस्था ‘गाएसा’ ले त्यहाँका बन्दरगाह, पेट्रोल पम्प र होटलसहितका आकर्षक आर्थिक क्षेत्रहरू नियन्त्रणमा लिएको र देशको दुरावस्थाका लागि त्यही संस्था जिम्मेवार रहेको आरोप लगाए।
अमेरिकी विदेशमन्त्रीको यस दाबीको खण्डन गर्दै क्युबाली राष्ट्रपति डिआस कानेलले अमेरिकाले झूटो प्रचार गरेर क्युबाली जनतालाई सामूहिक रूपमा दण्डित गरिरहेको र यो कदम क्युबाविरुद्ध सम्भावित सैन्य आक्रमणलाई उचित ठहर्याउने मुर्ख्याइँ मात्र भएको टिप्पणी गरेका छन्।







डिसी नेपाल







Facebook Comment