नयाँ दिल्लीसहित उत्तरी भारतमा गर्मीको नयाँ रेकर्ड, तापक्रम ४८ डिग्री नाघ्यो
एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीसहित उत्तरी क्षेत्रहरूमा गर्मीले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ। पछिल्ला दिनहरूमा यस क्षेत्रको तापक्रम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने कतिपय स्थानमा यसले पुराना सबै रेकर्डहरू तोडेको छ।
भारतको मौसम विज्ञान विभागका विज्ञहरूका अनुसार देशका विभिन्न भागहरूमा बिहीबार र शुक्रबारसम्म अत्यधिक गर्मीको स्थिति रहनेछ। यो चर्को घाम र तातो हावाका कारण विशेष गरी खुल्ला आकाशमुनि काम गर्ने बाहिरी कामदारहरूका लागि स्वास्थ्यको दृष्टिकोणले ठूलो चुनौती खडा भएको छ।
राजधानी नयाँ दिल्लीमा कार्यरत एक बाहिरी कामदार उमाकान्तले आफ्नो कार्यस्थलको अनुभव सुनाउँदै भने, “यो तातो मौसमले हामीलाई निकै सास्ती दिएको छ। साँझपख समेत तापक्रम ४२ देखि ४३ डिग्री सेल्सियससम्म हुने गरेको छ भने मंगलबार त ४६ डिग्री नै पुग्यो।
घामबाट बच्न टाउको छोप्ने, छायाँमा बस्ने र बाहिर काम गर्ने समय घटाउने प्रयास गरिरहेका छौँ। खुदलाई स्वस्थ राख्न सधैँ कागती पानी बोक्छौँ र प्रशस्त पिउँछौँ, तर यस्तो अवस्थामा काम गर्न निकै मुस्किल भइरहेको छ।”
नयाँ दिल्ली मात्र नभई छिमेकी राज्य उत्तर प्रदेश र अन्य आसपासका क्षेत्रहरू पनि तीव्र गर्मीको चपेटामा परेका छन्। उत्तर प्रदेशका केही भागहरूमा बुधबार तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको छ, जसलाई सन् १९५१ पछिको सबैभन्दा उच्च तापक्रम मानिएको छ।
मौसम पूर्वानुमानविद्हरूका अनुसार भारतको धेरैजसो भू-भागमा कम्तिमा अर्को एक सातासम्म यो अत्यधिक गर्मीको लहर जारी रहने सम्भावना छ। त्यसैले स्थानीय प्रशासनले सर्वसाधारणलाई दिउँसोको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र प्रशस्त झोल पदार्थ पिउन आग्रह गरेको छ।













डिसी नेपाल







Facebook Comment