‘ककरोच जनता पार्टी’ को ऐतिहासिक कीर्तिमान: ४ दिनमै कमायो १ करोड ३५ लाख फलोअर्स
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामको इतिहासमा एउटा ठूलो रेकर्ड कायम भएको छ। ‘ककरोच जनता पार्टी’ नाम गरेको एउटा नयाँ इन्स्टाग्राम अकाउन्टले भारत र विश्वभरमै सबैभन्दा तीव्र गतिमा फलोअर्स बढाउने अभूतपूर्व कीर्तिमान राखेको हो।
यो अकाउन्ट सञ्चालनमा आएको पहिलो ३ देखि ४ घण्टाभित्रै २५ देखि ३० लाख प्रयोगकर्ताहरू यसमा जोडिएका थिए। सुरुवाती चरणमा यस पेजमा प्रतिघण्टा औसत ६ देखि ८ लाख नयाँ फलोअर्स थपिएका थिए, जुन सामाजिक सञ्जालको इतिहासमा एकदमै असामान्य र तीव्र गति मानिन्छ।
अकाउन्ट सुरु भएको मात्र ४ दिनभित्र यसले १ करोड ३५ लाख (१३.५ मिलियन) फलोअर्सको आँकडा पार गरिसकेको छ। हालैको एक तथ्याङ्क अनुसार बिहान ९:३० बजे १०.५ मिलियन फलोअर्स रहेको उक्त पेजमा दिउँसो १:३० बजेसम्म, अर्थात् मात्र ४ घण्टाको छोटो अवधिमा ३० लाख नयाँ फलोअर्स थपिएर १३.५ मिलियन पुगेका थिए।
यो गति निरन्तर जारी रहेकाले उक्त अकाउन्टले छिट्टै नै २ करोड (२० मिलियन) को सङ्ख्या पार गरी नयाँ विश्व कीर्तिमान रच्ने अनुमान गरिएको छ।
यस अकाउन्टका संस्थापक अभिजीत दीपके रहेका छन्। युवा पुस्तालाई लक्षित गरी सामग्री प्रस्तुत गरिनु नै यस पेजको सफलताको मुख्य कारण मानिएको छ। यसमा राजनीतिक व्यङ्ग्य, मीम कल्चर र विद्यमान सरकारी तथा सामाजिक प्रणालीमाथि गरिएका रोचक कटाक्षहरू समावेश छन्, जसलाई इन्टरनेट प्रयोगकर्ताहरूले तीव्र रूपमा सेयर गरिरहेका छन्।
यसअघि यस्तो तीव्र गतिको रेकर्ड हलिउड अभिनेत्री जेनिफर एनिस्टन, बेलायती राजकुमार ह्यारी र मेगन मार्कल तथा चर्चित पप ब्यान्ड बीटीएस जस्ता विश्वप्रसिद्ध सेलिब्रेटीहरूको नाममा मात्र सीमित थियो। तर, एक व्यङ्ग्यात्मक भारतीय मीम पेजले यस स्तरको लोकप्रियता हासिल गर्नुलाई डिजिटल मिडिया जगतमा निकै चासोका साथ हेरिएको छ।







डिसी नेपाल







Facebook Comment