परिवर्तित जीवनशैली र युवा मुटु: कति बेला हुन्छ हृदयघात र कसरी जोगिने?
काठमाडौं। नेपालमा पछिल्लो समय उमेर ढल्किएका वृद्धवृद्धाहरूमा मात्र नभएर युवा अवस्थाका मानिसहरूमा पनि हृदयघात (हर्ट अट्याक) को समस्या निकै बढेर गएको छ र यसैका कारण धेरैले अकालमै ज्यान समेत गुमाउनुपरिरहेको छ।
यसै सन्दर्भमा मुटुरोग विशेषज्ञ डा. मिलन श्रेष्ठसँग गरिएको कुराकानीमा उनले पछिल्लो समय युवा अवस्थाका व्यक्तिहरूमा ब्लड प्रेसर, सुगर र कोलेस्ट्रोलको समस्या अत्यधिक देखिन थालेकाले हृदयघातको जोखिम पनि बढेको स्पष्ट पारेका छन्।
युवाहरूमा बढ्दै गएको महत्त्वाकांक्षी सोच, अत्यधिक घोटिएर काम गर्ने बानी, राती अबेरसम्म बस्ने शैली, शारीरिक व्यायामको कमी तथा चुरोट र सूर्तिको अत्यधिक सेवन नै युवावस्थामा मुटुको समस्या बढाउने मुख्य जिम्मेवार तत्त्वहरू हुन्।
अत्यधिक मानसिक तनावमा काम गर्ने मानिसहरूमा पनि हृदयघातको जोखिम निम्त्याउन यसले महत्त्वपूर्ण भूमिका खेलिरहेको डा. श्रेष्ठको भनाइ छ।
हृदयघात मुख्य गरी मुटुको रक्तनली साँगुरिँदै गएर कुनै बेला पूर्ण रूपमा बन्द भएको अवस्थामा हुने गर्दछ, जसका कारण रक्तनलीबाट प्रवाह हुने रगत रोकिन पुग्छ र मुटुका मांसपेशीहरूमा पर्याप्त रगत नपुग्दा ती मांसपेशीहरू मरेर काम नलाग्ने अवस्थामा पुग्छन्।
उच्च रक्तचापका कारण सधैँ सोझै हर्टअट्याक नहुने भए पनि यसले रक्तनलीहरूमा रोग पैदा गराई बोसो जम्ने प्रक्रिया सुरु गराउँछ, जुन पछि गएर हृदयघातको कारण बन्दछ।
मुटुमा सामान्य ब्लक मात्र हुँदा मानिसलाई सुरुमा खासै केही नहुन सक्छ, तर त्यो ब्लक बिस्तारै बढ्दै जाँदा विशेष गरी छातीमा भारीपन महसुस हुन थाल्छ। मुटुको समस्या वा हृदयघातको जोखिम बढ्नुको मुख्य कडी खराब खानपान पनि हो।
धेरै माछामासु, रातो मासु, चिल्लो पदार्थ, रक्सी र चुरोट सेवन गर्ने मानिसमा कोलेस्ट्रोल, प्रेसर र सुगर बढ्दा त्यसको सीधा असर मुटुमा पर्न जान्छ। यसका साथै निरन्तर नियमित व्यायाम नगर्ने मानिसमा मुटुरोगको सम्भावना बढी हुने भएकाले डा. श्रेष्ठले निरन्तर शारीरिक व्यायाम गर्न सुझाव दिएका छन्। मानसिक तनावले पनि प्रेसर र मुटुको चाल बढाउनुका साथै सुगर र कोलेस्ट्रोललाई अनियन्त्रित पार्न मद्दत पुर्याउँछ।
पछिल्लो समय हृदयघातको उपचार एकदम सहज र धेरै ठाउँमा उपलब्ध भइसकेकाले हृदयघात हुने बित्तिकै मान्छेको मृत्यु नै भइहाल्छ भन्ने सोच्नु गलत हुने डा. श्रेष्ठ बताउँछन्। यद्यपि यसको उपचार विशेष गरी ठुला अस्पतालहरूमा मात्र हुने गर्दछ।
धेरैजसो मानिसहरू अलिकति छाती दुख्ने बित्तिकै हृदयघात नै भयो कि भनेर आत्तिने गरे पनि छातीको सबै दुखाइ मुटुको दुखाइ वा हृदयघात नहुने उनले स्पष्ट पारे।
मानिसलाई मांसपेशी र हड्डीको दुखाइ, ग्यास्ट्रिकको समस्या, भिटामिन डीको कमी, अत्यधिक तनावमा काम गर्दा वा निन्द्रा नपुगेको अवस्थामा पनि छाती दुख्ने वा चसक्क हुने समस्या हुन सक्छ।
यदि कसैलाई हृदयघात भएको शंका लागेमा वा छाती साह्रै दुखेमा घरमा धेरै केही गर्न नसकिने हुनाले सबैभन्दा सुरुमा तुरुन्तै अस्पताल जानु नै सबैभन्दा उपयुक्त र सुरक्षित उपाय हो।
हाल चिकित्सा क्षेत्रमा ‘एन्जियोप्लास्टी’ विधिबाट यसको प्रभावकारी उपचार हुने भएकाले हृदयघातको शङ्का लाग्ने बित्तिकै ढिला नगरी अस्पताल जान उनले आग्रह गरे।
मुटुलाई स्वस्थ राख्न खानपानमा विशेष ध्यान दिँदै रातो मासु, चिल्लो र बोसोयुक्त खानेकुरा तथा मैदाजन्य वस्तुहरू नखान र त्यसको सट्टा सागसब्जी, फलफूल र प्रोटिनयुक्त खानेकुराको सन्तुलन मिलाएर खान उनले सुझाएका छन्।
पछिल्लो समय मानसिक तनाव एउटा नयाँ र ठूलो चुनौतीका रूपमा देखा परेकाले यसको सही व्यवस्थापनका लागि दैनिक सात-आठ घण्टाभन्दा बढी काम नगर्न, आफ्नो दिमागलाई फ्रेस र तनावमुक्त राख्ने वातावरण मिलाउन डा. श्रेष्ठले विशेष आग्रह गरे।







डिसी नेपाल







Facebook Comment