एमाले नेता उमाशंकर अरगरियाद्वारा पार्टीबाट राजीनामा
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय नेता एवं पूर्वसांसद उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। पार्टीभित्रैबाट आफू र आफ्ना कार्यकर्तामाथि उपेक्षा भएको भन्दै उनले एमाले परित्यागको घोषणा गरेका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा अरगरियाले एमालेभित्र इमानदार कार्यकर्ताको सम्मान हुन छाडेको आरोप लगाएका छन्। उनले पार्टीभित्र मौलाउँदै गएको गलत प्रवृत्तिका कारण आफू बाध्य भएर बाहिरिनु परेको उल्लेख गरेका छन्।
नेता अरगरियाले आफूसँगै एमालेमा समाहित भएका ठूलो संख्याका कार्यकर्ताहरूलाई लामो समय बितिसक्दा पनि पार्टीका विभिन्न कमिटीहरूमा समायोजन नगरिएको भन्दै असन्तुष्टि पोखेका छन्।
‘पटक–पटक पार्टी नेतृत्वलाई आफ्ना कार्यकर्ताहरूको राजनीतिक भविष्य र समायोजनका विषयमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएन,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘अहिले हाम्रा कार्यकर्ताहरू कमिटीविहीन र पहिचानविहीन अवस्थामा छटपटाउनु परेको छ।’
गत प्रतिनिधि सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार रहेका अरगरियाले चुनावमा पार्टीकै आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेहरूलाई नेतृत्वले संरक्षण गरेको दाबी समेत गरेका छन्।
चुनावमा असहयोग गर्ने र पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्नुको सट्टा उल्टै पुरस्कृत र सम्मानित गर्ने प्रवृत्ति बढेको उनको आरोप छ।
पार्टीभित्र लगनशील र इमानदार कार्यकर्ता सधैँ अपमानित हुने तर अवसरवादीहरूले प्रश्रय पाउने स्थिति बनेको उल्लेख गर्दै उनले आजकै मितिदेखि लागू हुने गरी पार्टीको जिम्मेवारी र साधारण सदस्य दुवैबाट अलग भएको घोषणा गरेका छन्।







डिसी नेपाल







Facebook Comment