गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिको कार्यालयमा पत्र पठाइयो

डिसी नेपाल
११ जेठ २०८३ १३:०४

काठमाडौं । आगामी जेठ १५ गते देशैभर मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालयले सो समारोहमा प्रधानमन्त्रीको सट्टा सम्माननीय राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गर्दै औपचारिक रूपमा पत्राचार गरेको छ।

मन्त्रिपरिषद्कै बैठकबाट यस विषयमा राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय भएबमोजिम मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्‍याएका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार औपचारिक पत्रका अतिरिक्त अनौपचारिक रूपमा पनि राष्ट्रपतिलाई यसका लागि आग्रह भइरहेको छ।

गणतन्त्रको सर्वोच्च प्रतीक र राष्ट्रप्रमुख राष्ट्रपति नै भएको हुनाले राज्यको यस्तो गरिमामय ऐतिहासिक समारोहमा उनले नै सम्बोधन गर्नु बढी वाञ्छनीय र सान्दर्भिक हुने तर्क प्रधानमन्त्री कार्यालयले अघि सारेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले प्रधानमन्त्री कार्यालयबाट सम्बोधनका लागि अनुरोधसहितको पत्र प्राप्त भएको कुरालाई पुष्टि गरेका छन् ।

प्रधानमन्त्री शाहको यो कदमलाई उनको पुरानै कार्यशैलीको निरन्तरताका रूपमा पनि हेरिएको छ। यसअघि काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा रहँदा पनि बालेन शाहले गणतन्त्र दिवसका औपचारिक तथा विशेष समारोहहरूलाई निरन्तर बहिष्कार गर्दै आएका थिए ।

प्रधानमन्त्री बनेपछि पनि उहाँले गणतन्त्र दिवसको मूल समारोहमा आफैं सम्बोधन नगर्ने नीति लिएपछि राजनीतिक वृत्तमा यसले पुनः नयाँ बहस र चासो पैदा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *