रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणबारे सरकार अनभिज्ञ

डिसी नेपाल
११ जेठ २०८३ १९:२४

काठमाडौं। सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्न लागेको भारत भ्रमणबारे आफ्नो तर्फबाट अनभिज्ञता प्रकट गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सभापति लामिछानेको भारत भ्रमण नितान्त व्यक्तिगत वा दलीय विषय भएको र यसलाई प्रधानमन्त्रीसँग जोड्न नमिल्ने बताए।

प्रेस ब्रिफिङका क्रममा पत्रकारहरूले रास्वपा सभापतिको भारत भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहको आगामी सम्भावित विदेश भ्रमणको कडीबारे जिज्ञासा राखेका थिए।

जवाफमा मन्त्री पोखरेलले सभापति लामिछानेको भारत भ्रमण अलग्गै विषय भएकाले यसमा प्रधानमन्त्रीको भ्रमण वा सरकारी कार्यक्रमको कुनै पनि सम्बन्ध र सरोकार नरहेको स्पष्ट पारे। उनले रास्वपा सभापति भारत जाने विषय र प्रधानमन्त्रीको कार्यतालिका पूर्ण रूपमा अलग कुरा भएको सञ्चारकर्मीहरूलाई जानकारी दिए।

यसैगरी, प्रधानमन्त्री बालेन शाहको विदेश भ्रमणबारे बोल्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्री अहिले सरकारको ‘हन्ड्रेड डेज’ (१०० दिन) को हनिमुन पिरियडभित्र गरिसक्नुपर्ने प्राथमिक कार्यहरूमा निकै व्यस्त रहेको उल्लेख गरे।

सरकारको काम र आन्तरिक कार्यसम्पादनमै केन्द्रित हुनुपरेकाले प्रधानमन्त्री शाहले अहिले भारतसहित अन्य कुनै पनि देशको भ्रमणमा जाने योजना नबनाएको उनको भनाइ थियो।

प्रधानमन्त्रीको पनि उपयुक्त समयमा विदेश भ्रमण हुने संकेत गर्दै मन्त्री पोखरेलले भने, “अहिले कामको चापका कारण प्रधानमन्त्री भारत मात्र नभई कतै पनि जानुभएको छैन, उहाँको सम्पूर्ण ध्यान परिणाममुखी काममै केन्द्रित छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *