शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरूको शिष्टाचार भेटवार्ता
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा साेमबार नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैर आवासीय राजदूतहरूले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रूपमा भेटवार्ता गरेको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो ।
युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, खास गरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएका थिए ।
साथै, उनीहरूले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताउँदै नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने र उच्च शिक्षामा कसरी सहकार्य र साझेदारीलाई अगाडि बढाउने विषयमा जोड दिए ।
नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा इयूलगायत मुलुकले गर्दै आएको सहयोगका निम्ति धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यी देशहरूसँग थप साझेदारी बढाउन मन्त्रालय तत्पर रहेको बताए ।
मन्त्री पोखरेलले सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउँदै विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे ।







डिसी नेपाल







Facebook Comment