कांग्रेसमा अँध्यारो कोठाको निर्णयले संकट निम्त्यायो: महेश नेपाली
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सामाजिक अभियन्ता महेश नेपालीले कांग्रेस वैचारिक रूपमा कहिल्यै फुट्न नसक्ने दाबी गरेका छन्।
नेपाल न्यूज बैंकसँग उनले अँध्यारो कोठामा बसेर निर्णय गर्ने नेतृत्वको गलत परिपाटीका कारण पार्टी आजको रक्षात्मक अवस्थामा आइपुगेको टिप्पणी गरे
विगतका नेतृत्व तहबाट भएका कमजोरी र उदासीनताकै कारण पार्टीभित्र विशेष महाधिवेशनको माग उठ्ने परिस्थिति बनेको र त्यसलाई नजरअन्दाज गर्दा आन्तरिक संकट झन् पेचिलो बन्दै गएको उनको भनाइ छ।
नेता नेपालीले कांग्रेसको वर्तमान नेतृत्वमा दूरदर्शिताको चरम अभाव देखिएको आरोप लगाए । भदौ २३ र २४ गते कार्यकर्ताहरूले गर्न लागेको विद्रोह र विशेष महाधिवेशनको तयारीबारे नेतृत्वले सुइँको समेत नपाउनुले नेतृत्व पूर्ण रूपमा असफल भएको पुष्टि गर्ने उनले बताए।
पार्टी विधानअनुसार नियमित महाधिवेशन हुन नसकेको विशेष अवस्थामा मात्र विशेष महाधिवेशन गर्न सकिने व्यवस्था रहेको स्मरण गराउँदै उनले नेतृत्वले नियमित महाधिवेशनको मिति तोक्नेबित्तिकै विशेषको औचित्य सकियो भनी आकलन गर्नु नै सबैभन्दा ठूलो गल्ती भएको उल्लेख गरे।
पछिल्लो समय विकसित भएको ‘जेनजी’ (नयाँ पुस्ताको) विद्रोह कांग्रेसको कार्यशैलीविरुद्ध पनि लक्षित रहेको भन्दै उनले फागुन २१ को निर्वाचनले पार्टीको आकारलाई थप खुम्च्याइदिएको बताए।
मुलुकका हरेक ऐतिहासिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको दाबी गर्दै उनले विगतका आन्दोलनहरूमा संवाद र सम्झौता (कम्प्रोमाइज) का माध्यमबाटै परिवर्तनको आवाजलाई सुरक्षित अवतरण गराइएको स्पष्ट पारे।
नेपाली कांग्रेसको इतिहास कहिल्यै पनि पूर्ण रूपमा नजुट्ने र नफुट्ने प्रकृतिको रहेको उल्लेख गर्दै उनले पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन देउवा र कोइराला पक्षसमेत अन्ततः एक ठाउँमा आउनैपर्ने बाध्यात्मक दृष्टान्त प्रस्तुत गरे।
देशमा कुनै पनि किसिमको संकट आउँदा वा लोकतान्त्रिक व्यवस्था जोगाउनुपर्ने मुख्य सवालमा कांग्रेस जहिले पनि एकजुट भएको इतिहास रहेको भन्दै उनले वर्तमान समयमा पनि प्रजातन्त्रमाथि आघात पुग्न थालेमा कांग्रेस फेरि एकत्रित भएर नै अगाडि बढ्ने दृढता व्यक्त गरे।
पार्टीभित्र विगतका दिनहरूमा पनि समानान्तर गतिविधि हुने गरेको पृष्ठभूमि कोट्याउँदै उनले हाल भइरहेका आन्तरिक बहस र असन्तुष्टिलाई अनौठो रूपमा लिन नहुने बताए।
इतिहासलाई सही ढंगले बुझेर, वर्तमानका चुनौतीहरूलाई चिर्दै सुखद भविष्य निर्माणमा अग्रसर हुनु नै आजका युवाहरूको चाहना भएको उनको भनाइ छ। पद र प्रतिष्ठाका लागि विगतमा पार्टी धेरै पटक चोइटिएको भए पनि यसरी अलग भएर जानेहरू इतिहासको कालखण्डमा आफैँ बिलाएर गएको दाबी गर्दै उनले कांग्रेसभित्र फुट कहिल्यै दिगो नरहने जिकिर गरे।







डिसी नेपाल







Facebook Comment