अभिनेत्री र नेताबीच विवाद चर्कियो, विवाहकै बीच १० करोडका उपहार फिर्ता माग्दै मुद्दा

डिसी नेपाल
१३ जेठ २०८३ १४:२६

काठमाडौँ । पाकिस्तानी टेलिभिजन र चलचित्र उद्योगकी चर्चित अभिनेत्री मोमिना इकबाल र पाकिस्तान मुस्लिम लिग-नवाज का प्रान्तीय एसेम्बली सदस्य साकिब खान चधरबीचको व्यक्तिगत विवाद यतिबेला कानुनी लडाइँमा परिणत भएको छ।

मोमिनाका पूर्वप्रेमीसमेत रहेका नेता साकिब चधरले अभिनेत्री मोमिनासँग आफ्नो सम्बन्ध समाप्त भएपछि आफूले दिएका करिब १० करोड पाकिस्तानी रुपैयाँ बराबरका बहुमूल्य उपहारहरू फिर्ता माग गरेपछि यो विषय सञ्चारमाध्यममा निकै तातेको हो।

सञ्चारमाध्यममा सार्वजनिक विवरण अनुसार नेता साकिब चधरले आफूले मोमिनालाई कुनै पनि प्रकारको मानसिक वा अनलाइन उत्पीडन नगरेको दाबी गरेका छन्। उनले मोमिना अर्कै व्यक्तिसँग विवाह बन्धनमा बाँधिन लागेकोमा आफ्नो कुनै आपत्ति नरहेको उल्लेख गर्दै सम्बन्धमा रहँदा दिएका महँगा उपहारहरू मात्र फिर्ता मागेको बताएका छन्।

यसैबीच, साकिबले मोमिनाका नयाँ श्रीमानले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै उनीविरुद्ध प्रहरीमा मुद्दासमेत दर्ता गराएका छन्।

पाकिस्तानी सिनेमाटोग्राफर इरशाद भट्टी र साकिबका अधिवक्ता मियाँ अली अशफाकका अनुसार साकिबले सम्बन्धमा छँदा मोमिनालाई एउटा टोयोटा फर्चुनर र एउटा होन्डा सिभिक कार उपहार दिएका थिए।

हाल उक्त फर्चुनर गाडी मोमिनाकी आमाले प्रयोग गरिरहेकी छन्। गाडीका अतिरिक्त ८४ लाख रुपैयाँ मूल्य पर्ने एउटा विलासी घडी र अन्य महँगा सामाग्रीहरू गरी कुल १० करोड रुपैयाँ बराबरको सम्पत्ति साकिबले दाबी गरेका छन्।

यो तीव्र विवाद र कानुनी खिचातानीका बीच अभिनेत्री मोमिनाले आफ्ना मंगेतर हम्जा हबिबसँग एक निजी समारोहमा गुपचुप रूपमा ‘निकाह’ (विवाह) गरेकी छन्। हम्जा हबिब आफैँले सञ्चारमाध्यममा आफूहरूले परम्परागत र सादगीपूर्ण रूपमा मागी विवाह (अरेन्ज म्यारिज) गरेको पुष्टि गरेका छन्।

उनले आफू कानुनी रूपमै मोमिनाको श्रीमान् भइसकेको बताउँदै साकिब चधरले रिसको झोकमा लगाएका आरोपहरू झुटो भएको र आफूहरू कुनै पनि धम्कीबाट नडराउने स्पष्ट पारेका छन्। हाल लाहोर उच्च अदालतले हम्जा हबिबलाई यस मुद्दामा अन्तरिम सुरक्षात्मक जमानत समेत प्रदान गरिसकेको छ।

यस विषयमा अभिनेत्री मोमिना इकबालले हालसम्म सञ्चारमाध्यममा सिधा प्रतिक्रिया नदिए पनि केही समयअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत पाकिस्तान मुस्लिम लिग-नवाजका एक सासंदले आफू र आफ्नो परिवारलाई अनलाइनमार्फत ब्ल्याकमेलिङ, साइबर बुलिङ र ज्यान मार्ने धम्की दिइरहेको खुलासा गरेकी थिइन्।

उनले उक्त भिडियोमा ती नेताले आफ्नो वैवाहिक जीवन बर्बाद पार्न खोजेको आरोप लगाउँदै पञ्जाब सरकार र मुख्यमन्त्री मरियम नवाजसँग सुरक्षा र निष्पक्ष छानबिनको माग गरेकी थिइन्। पछि राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीको रोहबरमा दुवै पक्षले आफ्नो बयान रेकर्ड गराएका छन्। दुवै पक्षका दाबी र कानुनी प्रमाणहरू बाहिर आउने क्रम जारी रहेकाले यो विवाद आगामी दिनमा अझै तन्किने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *