‘मातृभूमिको माया विदेशमा रहनेलाई थाहा हुन्छ’
काठमाडौं। अस्ट्रेलियाको सिड्नीस्थित ‘ह्याम्रो क्लब’ले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको हकहित र अधिकारका पक्षमा सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।
क्लबद्वारा यहाँ आयोजित विशेष कार्यक्रमका वक्ताहरूले अस्ट्रेलियामा रहेको नेपाली समुदाय, मातृभूमि नेपाल र नेपाली जनताका पक्षमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
प्रदेशमा रहे पनि आफूहरूमा नेपालीपन रहेको र नेपाली भनेर चिनिँदा गौरवको अनुभूति हुने बताउँदै उनीहरूले अस्ट्रेलियास्थित नेपाली समुदायको सुखदुख बाँड्ने आशा र भरोसासहित साझा चौतारीका रुपमा ‘क्लब’लाई स्थापित गर्नुपर्नेमा जोड दिए।
सो अवसरमा कार्यक्रमका सहजकर्ता दिनेश सापकोटाले मातृभूमिप्रतिको माया विदेशमा रहँदा थाहा हुने उल्लेख गर्दै आपसी सहयोग र सद्भाव कायम गरी नेपाली समुदायको उत्थानका पक्षमा ‘क्लब’ रहेको स्पष्ट गरे।
क्लबका अध्यक्ष राजीव अधिकारीले अस्ट्रेलियन सरकारको विश्वास जिती अग्रजबाट प्राप्त सहयोग र सद्भावलाई समेत समेटेर यहाँस्थित नेपाली समुदायको हकहितमा आफूहरू खटिरहेको जानकारी दिए।
सो क्लबको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा सांसद नाथन ह्यागार्टी, काउन्सिलर एलिजा रहमान, पूर्वकाउन्सिलर उषा डोम्माराजु, क्लबका संस्थापक अध्यक्ष अमूल्यप्रताप सिंहलगायत २०० भन्दा बढी नेपाली समुदायको उपस्थिति थियो। कार्यक्रममा ‘क्लब’को नयाँ वेबसाइट औपचारिकरुपमा सार्वजनिक गरिएको थियो।
यसैगरी विविध खेलकुद प्रतियोगिता, गीतसङ्गीतसहित मनोरञ्जनात्मक कार्यक्रम र प्रतिभा सम्मान कार्यक्रमसमेत सो अवसरमा प्रस्तुत गरिएको थियो।







डिसी नेपाल







Facebook Comment