च्याङथापूमा बाढीपहिरोको वितण्डा: छ टोलका २६ घर उच्च जोखिममा

डिसी नेपाल
१४ जेठ २०८३ ७:४३

पाँचथर। पाँचथरको याङवरक गाउँपालिका-१ च्याङथापूका विभिन्न स्थानमा बेमौसमी वर्षाका कारण गएको पहिरोले छ वटा टोल गम्भीर रूपमा प्रभावित भएका छन्।

गत जेठ ८ गतेको वर्षापछि आएको पहिरोका कारण साविक च्याङथापू गाविसका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोलका २६ घरपरिवार उच्च जोखिममा परेका छन्।

स्थानीय वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोले चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवास तथा कोप्चेका गङ्गाराम बेघाको घर बगाइसकेको छ भने अन्य करिब ७० घरहरू पनि जोखिमपूर्ण अवस्थामा छन्।

पहिरोले मानवीय क्षति नगरे पनि ठूलो संख्यामा पशुचौपाया बगाएको र खेतीयोग्य जमिन तथा अलैँची बगानमा व्यापक क्षति पुर्‍याएको छ। आकाशमा बादल लाग्ने बित्तिकै स्थानीय बासिन्दा त्रसित भएर सुरक्षित स्थानतर्फ भाग्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।

यस क्षेत्रमा तीन वर्षअघि अर्थात् विसं २०८० असार ३ गते पनि मेवाखोलासहितका नदीमा आएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको थियो। तीन वर्षअघिको प्राकृतिक विपत्तिले थपेको पीडा र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य पूर्ण रूपमा नसकिँदै पुनः पहिलेभन्दा ठूलो बाढीपहिरो आएपछि स्थानीय सरोकारवालाहरूले यस क्षेत्रलाई तत्काल सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिरहेका छन्।

जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङका अनुसार बाढीपहिरोले यहाँका आठवटा सिँचाइ योजना, तीनवटा खानेपानी आयोजना र तीनवटा झोलुङ्गे पुल पूर्ण रूपमा ध्वस्त बनाएको छ, जसका कारण जनजीवन कष्टकर बनेको छ।

भौतिक पूर्वाधारतर्फ पुष्पलाल (मध्यपहाडी) राजमार्गको च्याङथापू खण्ड, फाक्लुङ-फालोट, च्याङथापू-समरजुङ र च्याङथापू-लामपोखरी मोटरबाटोमा पहिरोले व्यापक क्षति पुर्‍याएको छ। सडक अवरुद्ध हुँदा सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी) मा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको छ भने ५० जनाभन्दा बढी विद्यार्थीको विद्यालय आवतजावत र गर्भवती महिलाहरूको नियमित स्वास्थ्य परीक्षण समेत प्रभावित भएको छ।

याङवरक गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङ्बोले बाढीपहिरोले गाउँपालिकाको वडा नं १, २ र ३ मा अत्यधिक तथा वडा नं ४ र ५ मा आंशिक क्षति पुर्‍याएको जानकारी दिनुभएको छ। हाल वडा कार्यालयहरू मार्फत क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ।

सडक सञ्जाल पूर्ण रूपमा टुटेका कारण च्याङथापू र फलैँचा जस्ता अति प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ। गाउँपालिकाले पुष्पलाल राजमार्गको अवरुद्ध ओयाम-चीनभाञ्ज्याङ खण्ड खुलाउने प्रयास स्वरूप ओयामबाट काम सुरु गरी वडा नं ३ को फलामखोलासम्म यातायातको सम्पर्क स्थापित गरिसकेको र बाँकी क्षेत्रमा सडक खुलाउने कार्य तीव्र गतिमा अघि बढाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *