सुनको मूल्यमा भारी गिरावट: तोलामा ५५ सयले घट्यो
काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा व्यापक गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकैपटक ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ।
यसअघि हिजो (बुधबार) पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो। गत मंगलबार भने सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको थियो। हिजो र आज गरी दुई दिनको अवधिमा मात्रै सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटिसकेको छ।
सुनसँगै आज चाँदीको भाउमा पनि उच्च गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा झरेको छ। हिजो बुधबार चाँदीको भाउ तोलाको ५ हजार ८० रुपैयाँ रहेको थाहा भएको छ।
यसअघि नेपाली सुनचाँदी बजारमा ऐतिहासिक रेकर्डहरू बनेका थिए। गत माघ १५ गते एकैदिन तोलामा इतिहासकै सबैभन्दा धेरै २० हजार ५०० रुपैयाँले बढेर सुनको भाउ ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। सोही दिन माघ १५ गते चाँदीको भाउ पनि अहिलेसम्मकै सबैभन्दा बढी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।
त्यसैगरी, गत माघ १८ गते चाँदीको मूल्यमा तोलामा १ हजार ५६५ रुपैयाँको गिरावट आएको थियो। चाँदीको मूल्यमा आएको उक्त गिरावट नेपाली बजारको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो गिरावट हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment