डिजिटल युगमा काठमाडौंका लघु-उद्यमी: ओपन इन्टरनेट नेपालको दोस्रो कार्यशाला सम्पन्न
काठमाडाैं। डिजिटल प्रविधिको तीव्र विकाससँगै अहिले व्यवसाय सञ्चालन र प्रवर्द्धनको शैलीमा ठूलो परिवर्तन आएको छ।
डिजिटल मार्केटिङअन्तर्गत सामाजिक सञ्जाल, एआई टुल्स र अनलाइन प्लेटफर्महरू व्यवसाय विस्तारका महत्त्वपूर्ण माध्यम बनिरहेका छन्।
यही अवस्थालाई मध्यनजर गर्दै नेपालका साना तथा मध्यम उद्यमीहरूलाई समयअनुकूल सीप प्रदान गर्ने उद्देश्यले ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर) ले ‘डिजिटल उत्थानः डिजिटल युगका लागि काठमाडौंका लघु-उद्यमीहरूलाई सशक्त बनाउने’ परियोजनाअन्तर्गत आफ्नो दोस्रो तथा अन्तिम कार्यशाला बुधबार काठमाडौंमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रका साना उद्यमी, महिला व्यवसायी, होटल सञ्चालक, हाटबजारका व्यापारी तथा स्वतन्त्र उद्यममा संलग्न व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई फेसबुक, टिकटक, गुगल म्याप, गुगल एनालिटिक्स, क्यानभा र क्यापकटजस्ता डिजिटल टुल्स प्रयोग गरेर आफ्नो व्यवसाय कसरी प्रवर्द्धन गर्ने भन्नेबारे सैद्धान्तिक तथा व्यावहारिक दुवै प्रकारको प्रशिक्षण प्रदान गरिएको थियो।
इन्टरनेट सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष आशीर्वाद त्रिपाठीका अनुसार यो कार्यक्रम मे १० बाट सुरु भएको थियो। पहिलो चरणमा सैद्धान्तिक जानकारी दिएपछि सहभागीहरूलाई दुई सातासम्म निरन्तर फिडब्याक र सहयोग प्रदान गरियो र बुधबार यसको अन्तिम चरण सम्पन्न गरियो।
अध्यक्ष त्रिपाठीले धेरै उद्यमीहरू अझै पनि डिजिटल प्रविधिको पूर्ण जानकारी नहुँदा अवसरबाट वञ्चित भइरहेकाले विशेषगरी हाँडीगाउँ र भनिमण्डल हाटबजारलगायतका क्षेत्रका महिला उद्यमी तथा घरेलु व्यवसायीलाई लक्षित गरी यो कार्यक्रम चलाइएको जानकारी दिए।
उनले थ्योरी मात्र सिकाएर नहुने भएकाले दोस्रो चरणमा सहभागीहरूको आफ्नै बिजनेस पेज खोल्न, पोस्ट तयार गर्न, फोटो अपलोड गर्न र भिडियो सम्पादन गर्ने जस्ता काम प्रत्यक्ष गराएर व्यावहारिक अभ्यास गराइएको बताए। यस तालिमबाट विशेषगरी महिला उद्यमीहरूले धेरै लाभ लिएको उनको अनुभव छ।
इन्टरनेट सोसाइटी नेपाल च्याप्टरले ‘इन्टरनेट फर एभ्रिवान’ अर्थात् इन्टरनेट सबैका लागि सहज, सुरक्षित र सस्तो हुनुपर्छ भन्ने अवधारणामा काम गर्दै आएको छ।
संस्थाका संस्थापक आनन्द गौतमका अनुसार सहरी क्षेत्रका साना तथा घरेलु उद्यमीहरूलाई सूचना प्रविधिको प्रयोगमार्फत व्यवसाय प्रवर्द्धन गर्न सिकाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको दोस्रो चरणमा कन्टेन्ट निर्माण, रिल्स, टिकटक भिडियो, युट्युब सट्स तथा इन्स्टाग्राम प्रयोगबारे विस्तृत तालिम दिइएको थियो।
यस क्रममा भिडियो बनाउन लाइट, माइक, साउन्ड र स्क्रिप्ट राइटिङ कति महत्त्वपूर्ण हुन्छ भन्ने आधारभूत कुरा पनि सिकाइएको थियो। तालिममा च्याउ खेती गर्ने, तरकारी व्यवसायी, ट्याटु आर्टिस्ट, नेवारी खाजा व्यवसायी र घरेलु सामग्री उत्पादन गर्ने विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता थियो।
संस्थाले हालसम्म ६०० भन्दा बढी सरकारी वेबसाइटलाई अपाङ्गमैत्री बनाउन सहयोग गरिसकेको छ भने नेपालमा अझै पनि कायम रहेको डिजिटल डिभाइडको अवस्थालाई कम गर्न इन्टरनेटको अर्थपूर्ण प्रयोगमा जोड दिँदै आएको छ।
यस तालिमले सहभागी उद्यमीहरूमा नयाँ आत्मविश्वास र ऊर्जा थपेको छ। कृषि फार्म सञ्चालन गरिरहेकी सहभागी अस्मिता राईले पहिले कम्पनीको पेज बनाउन र गुगल म्यापमा लोकेसन राख्न थाहा नभएकोमा अब ग्राहकले आफैँ लोकेसन खोजेर आउन सक्ने भन्दै खुसी व्यक्त गरिन्।
त्यस्तै, दिल साबुन उद्योग दर्ता गरेर उत्पादनको तयारीमा रहेकी कृष्ण नेपालीले टिकटक र भिडियो बनाउने सही शैली र यसलाई दर्शकसम्म पुर्याउने तरिका सिकेपछि आफ्ना कमजोरी बुझ्ने मौका पाएको बताइन्।
नेवारी खाजा व्यवसाय सञ्चालन गर्दै आएकी विद्या तुलाधारले क्यापकट र एआई टुल्समार्फत व्यवस्थित रूपमा कन्टेन्ट बनाउन सिकेको र भविष्यमा फ्रोजन योमरी विदेशमा निर्यात गर्ने आफ्नो योजना रहेको सुनाइन्।
१५ वर्षदेखि च्याउ खेतीमा सक्रिय विकास देशारले पहिला सामाजिक सञ्जाललाई समय बिताउने माध्यम मात्र ठान्ने गरेकोमा अब कृषिलाई प्रविधिसँग जोडेर व्यवसाय बढाउन सकिने कुरा बुझेको बताए। हाँडीगाउँमा नेवारी खाजा स्टल चलाउने लक्ष्मी श्रेष्ठले पनि तालिममा सिकेका डिजिटल मार्केटिङका सीपलाई व्यवहारमा लागू गर्दै थप ग्राहकसम्म पुग्ने लक्ष्य राखेकी छिन्।
डिजिटल युगमा व्यवसाय सञ्चालनको शैली परिवर्तन भइरहेका बेला यस्ता कार्यक्रमले आत्मनिर्भर उद्यमशीलता विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment