जेसीबीको ठक्करबाट बैतडीमा सडक उपभोक्ता समिति अध्यक्षको मृत्यु
बैतडी। बैतडीमा सडक निर्माणका क्रममा जेसीबीको ठक्करबाट एक जना सडक उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर बोहरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार बिहान पौने ९ बजे पुर्चौडी–५ स्थित सल्लेरी–काटेइ ग्रामीण सडक खन्ने क्रममा दुर्घटना भएको हो। सडक निर्माण भइरहेका बेला जेसीबीको बकेटले ठक्कर दिँदा बोहरा गम्भीर घाइते भएका थिए।
घाइते बोहरालाई तत्कालै उद्धार गरी उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको थियो। उपचारकै क्रममा अस्पतालमा बिहान ११:४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। मृतक बोहरा सोही सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत थिए।
प्रहरीले जेसीबी चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का २५ वर्षीय ललित बोहरालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।







डिसी नेपाल







Facebook Comment