अमेरिका र इरानबीच ६० दिने युद्धविराम सम्झौताको तयारी, राष्ट्रपति ट्रम्पको अन्तिम स्वीकृतिको पर्खाइ
वासिङ्टन डीसी। संयुक्त राज्य अमेरिका र इरानबिच ६० दिनको युद्धविराम सम्झौता परिपक्व भएको र यसमा सहमति जुटेको दाबी गरिएको छ। अमेरिकी सञ्चार माध्यम ‘एक्सियोस’ को रिपोर्टअनुसार यस प्रस्तावित सम्झौतालाई औपचारिकता दिन अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम स्वीकृतिको प्रतीक्षा भइरहेको छ।
दुवै देशबिच युद्धविरामलाई थप विस्तार गर्ने र इरानको विवादित आणविक कार्यक्रममाथि औपचारिक वार्ताको थालनी गर्ने उद्देश्यका साथ एक समझदारीपत्र (एमओयू) मा सहमति बनेको हो।
राष्ट्रपति ट्रम्पले यस सम्झौतामाथि अन्तिम निर्णय लिन केही दिनको समय माग गर्नुभएको छ भने इरानको तर्फबाट पनि यस विषयमा आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको रिपोर्टमा उल्लेख छ।
प्रस्तावित सम्झौताका सर्तअनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेटमा मालवाहक जहाजहरूको ढुवानी पूर्ण रूपमा निर्बाध र सुरक्षित रूपमा सञ्चालन हुनेछ। यसका लागि इरानले आगामी ३० दिनभित्र उक्त समुद्री क्षेत्रमा बिछ्याइएका खानीहरू (सी माइन्स) हटाउनुपर्नेछ भने सो मार्ग भएर आवतजावत गर्ने जहाजहरूबाट कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन पाउने छैन।
त्यसको बदलामा संयुक्त राज्य अमेरिकाले इरानी समुद्री क्षेत्रमा लगाएको आफ्नो नौसैनिक नाकाबन्दीलाई बिस्तारै खुकुलो बनाउँदै लैजानेछ। साथै, इरानको अर्थतन्त्रको मुख्य खम्बा मानिएको तेल बिक्रीमा लगाइएका केही कडा प्रतिबन्धहरूमा राहत दिने विषयमा समेत अमेरिकाले छलफल अगाडि बढाउने सहमति भएको छ।
यस सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पक्षका रूपमा इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ।
सुरुवाती ६० दिनको यस युद्धविराम अवधिमा मुख्य गरी अत्यधिक समृद्ध युरेनियम (हाइली इनरिच्ड युरेनियम) को व्यवस्थापन र युरेनियम संवर्धनका प्राविधिक तथा राजनीतिक विषयहरूमा केन्द्रित रहेर दुई पक्षबिच सघन वार्ता हुने बताइएको छ।







डिसी नेपाल







Facebook Comment