जबसम्म नागरिकको जीवनमा आशाको दियो बल्दैन, गणतन्त्रको लक्ष्य पूरा हुँदैन: राष्ट्रपति पौडेल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दै यो व्यवस्था राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको बताएका छन्।
१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ। यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ। किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो।”
व्यवस्था मात्र होइन, आचरणशील जीवन पद्धति
राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक राजनीतिक व्यवस्था मात्र नभएर आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको स्पष्ट पारे। गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन सबैले राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध हुन आवश्यक रहेको उनको भनाइ थियो।
“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ,” राष्ट्रपति पौडेलले थपे, “आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा देओस्।”
नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको विश्वास
मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको राष्ट्रपतिले उल्लेख गरे।
नयाँ सरकारले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए।
साथै, शासकीय सुधारका एक सय कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारका निमित्त संरचनागत र कानुनी सुधार गर्ने सरकारको निर्णयले जनतामा नयाँ आशा जागृत हुने विश्वास उनले व्यक्त गरे।
ढिलासुस्ती र बेथिति नै मुख्य शत्रु
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने भन्दै राज्यसत्ताको चरित्र, आचरण र निष्ठा बदलिनुपर्नेमा जोड दिए।
उनले भने, “आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरू कोही होइन, ढिलासुस्ती, अनियमितता र बेथिति हो। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै बेथितिहरूले निराश नबनाओस् भन्नेमा हाम्रो चिन्ता हुनुपर्दछ। जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन।”
निमुखालाई न्याय र विपन्नलाई आय
नागरिकले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गर्दै राष्ट्रपतिले कृषि, पर्यटन, ऊर्जा र औद्योगिक क्षेत्रलाई बलियो बनाएर मात्र आर्थिक विकास सम्भव हुने बताए।
नेपालको संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले ‘निमुखालाई न्याय र विपन्नलाई आय’ को परिलक्ष्य राखेको र यसले सिंहदरबारको अधिकार गाउँ-गाउँसम्म पुर्याएको उनले स्पष्ट पारे।
संसारमा योभन्दा उन्नत अर्को कुनै व्यवस्था नभएको दाबी गर्दै उनले स्थानीय र प्रदेश सरकारहरूले जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास गराइरहेकाले लोकतन्त्रको जरा बलियो बन्दै गएको उल्लेख गरे।
शहीद र संर्घषका योद्धाहरूप्रति सम्मान
ऐतिहासिक दिनको स्मरण गर्दै राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे। साथै, जेल, नेल, निर्वासन र यातना सहेर पनि अविचलित रूपमा क्रियाशील रहेका लोकतन्त्रका योद्धाहरू, अग्रज नेताहरू तथा नागरिक समाजप्रति उनले सम्मान एवं आभार व्यक्त गरे।
समारोहमा उच्चपदस्थहरूको उपस्थिति
गणतन्त्र दिवसको उक्त विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो।







डिसी नेपाल







Facebook Comment