डलरमा ट्रम्पको फोटो छाप्न १६० वर्ष पुरानो कानुन बदल्ने तयारी
काठमाडौं । अमेरिकाको स्थापना भएको २५०औँ वर्षगाँठ (जुलाई ४, २०२६) को अवसर पारेर ट्रम्प प्रशासनले राष्ट्रपति ट्रम्पको तस्बिर अंकित २ सय ५० डलरको नयाँ नोट जारी गर्ने गृहकार्य तीव्र पारेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले हालै ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा संसद्मा दर्ता भएको ‘डोनाल्ड जे. ट्रम्प २५० डलर बिल एक्ट’ पारित भएमा यो योजना अघि बढ्ने पुष्टि गरेका छन् ।
अमेरिकी इतिहासमै विरलै हुने यस कदमका लागि सरकारले नोट छाप्ने सरकारी निकाय (बीइपी) लाई आन्तरिक रूपमा नमुना र पूर्वतयारी गर्न निर्देशन दिइसकेको छ।
यद्यपि, यो योजना कार्यान्वयन गर्न अमेरिकाको १६० वर्ष पुरानो एउटा कडा कानुनी पर्खाल भत्काउनुपर्ने हुन्छ।
सन् १८६६ देखि लागू अमेरिकी कानुन अनुसार कुनै पनि जीवित व्यक्तिको तस्बिर मुद्रामा छाप्न पाइँदैन। हाल यो नियम संशोधनका लागि रिपब्लिकन सांसद जो विल्सनले संसद्मा विधेयक पेस गरेका छन् जसलाई हालै संसद्को वित्तीय सेवा समितिले सुनुवाइका लागि अनुमति दिएको छ।
यदि कङ्ग्रेस (संसद्) बाट यो कानुन पारित भएमा, ट्रम्प अमेरिकी इतिहासमा जीवित छँदै नोटमा तस्बिर छापिने थोरै व्यक्तिहरूको सूचीमा पर्नेछन्।ब्रिटिस कलाकार इयान अलेक्जेन्डरले तयार पारेको यस नोटको प्रारम्भिक डिजाइनलाई राष्ट्रपति ट्रम्प आफैँले स्वीकृत गरिसकेका छन्, जसमा अमेरिकी झण्डाको रङ र २५०औँ वार्षिकोत्सवको लोगो समेटिएको छ।
तर, यो योजना विवादरहित भने छैन। कतिपय कर्मचारी र मुद्रा विज्ञहरूले नयाँ सुरक्षा विशेषतासहितको नोट डिजाइन गर्न र एटिएम मेसिनहरू अनुकूल बनाउन ६ देखि ८ वर्षसम्म लाग्ने भन्दै हतार नगर्न चेतावनी दिएका छन्।
यसै विषयमा विमति राख्ने विभागकी पहिलो महिला निर्देशक प्याट्रिसिया सोलिमेनलाई गत अप्रिलमा पदबाटै हटाइएकाले यो विषय राजनीतिक रूपमा थप तातेको छ। विपक्षी डेमोक्र्याटहरूले यसलाई देशको उत्सवभन्दा पनि राष्ट्रपतिलाई ‘राजा’ जस्तो देखाउने प्रवृत्तिको रूपमा कडा आलोचना गरिरहेका छन्।







डिसी नेपाल







Facebook Comment