आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २०० पुल बन्ने, पूर्व–पश्चिम राजमार्गका लागि साढे ३७ अर्ब
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशैभर गरी १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २०० वटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यका साथ यस्तो लक्ष्य राखिएको जानकारी दिए।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री डा. वाग्लेले देशको मुख्य आर्थिक मेरुदण्ड मानिएको पूर्व–पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र पूर्ण रूपमा चार लेनमा विस्तार गरिसक्ने घोषणा गरे। जसअन्तर्गत लामो समयदेखि निर्माणाधीन नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्डको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने उनले बताए।
राजमार्गकै थप ८० किलोमिटर खण्डको निर्माण आगामी दुई वर्षभित्र सकिने लक्ष्य राखिएको छ। सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि मात्रै ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माणलाई गति दिन सरकारले १७ अर्ब ६४ करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ। यो बजेट द्रुतमार्ग अन्तर्गत निर्माणाधीन ४० वटा पुल र ४ वटा सुरुङमार्गको काम समयमै सक्न केन्द्रित गरिनेछ।
यसैगरी, तराई-मधेसको लाइफलाइन मानिएको हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड रुपैयाँ र पहाडी भेगलाई जोड्ने मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ। विकट कर्णाली क्षेत्रको यातायात सहज बनाउन कर्णाली राजमार्गका लागि सरकारले १ अर्ब रुपैयाँ बजेट छुट्याएको छ।
रणनीतिक सडकहरूको स्तरोन्नति, पुल निर्माण र ठूला रूपान्तरणकारी आयोजनाहरूको समयबद्ध समाप्तिले मुलुकको आन्तरिक व्यापार, पर्यटन र समग्र आर्थिक वृद्धिलाई ठूलो बल पुग्ने विश्वास सरकारले लिएको छ।







डिसी नेपाल







Facebook Comment