स्वास्थ्य क्षेत्रलाई १ खर्ब १ अर्ब ९५ करोड बजेट, बालबालिकाको क्यान्सर उपचार निःशुल्क

डिसी नेपाल
१५ जेठ २०८३ १७:३४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा कुल १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य सेवाको विस्तार, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।

बजेटमार्फत सरकारले आम नागरिकलाई स्वास्थ्य सेवाको दायरामा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ र स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ।

यसैगरी बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ, जसलाई बाल स्वास्थ्य सुरक्षाको क्षेत्रमा एउटा महत्त्वपूर्ण र मानवीय पहलका रूपमा लिइएको छ।

स्वास्थ्य पूर्वाधारतर्फ सरकारले देशभर निर्माणाधीन ३३६ वटा आधारभूत अस्पतालहरूको निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। हालसम्म निर्माण सुरु हुन नसकेका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन तथा पूर्वतयारीका कार्यहरू अघि बढाउन ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी दूरदराजका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवाको विस्तार गरिने बजेटमा उल्लेख छ। सङ्घीय स्तरमा विशिष्टीकृत अस्पतालअन्तर्गत जलन (बर्न) उपचार केन्द्र स्थापना गरिनेछ भने मधेस प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालनमा ल्याइने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *