बजेटले निजी क्षेत्रका माग सम्बोधन गर्न खोजेको छ : महासंघ अध्यक्ष श्रेष्ठ

डिसी नेपाल
१५ जेठ २०८३ १९:०१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रका मागहरूलाई सम्बोधन गर्न खोजेको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएलगत्तै संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बजेटमा समेटिएका कतिपय व्यवस्था सकारात्मक रहेको उल्लेख गरे।

अध्यक्ष श्रेष्ठले विशेषगरी अन्तःशुल्क घटाउने सरकारको निर्णय सकारात्मक भएको भन्दै स्वागत गरे। उत्पादन लागत अत्यधिक महँगो भएको भन्दै निजी क्षेत्रले निरन्तर आवाज उठाउँदै आएको सन्दर्भमा बजेटले त्यसलाई सम्बोधन गर्न खोजेको उनको भनाइ थियो।

यसका साथै सरकारले बजेटमार्फत कृषि क्षेत्रलाई पनि राम्रो प्रोत्साहन गर्न खोजेको श्रेष्ठले बताए। मुलुकभित्रै उत्पादन वृद्धि गर्ने र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यसहित बजेटमा ल्याइएका कार्यक्रमहरूले उद्योगी व्यवसायीमाझ सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे।

युवा पुस्तालाई उद्यमशीलता र रोजगारीतर्फ आकर्षित गर्ने विभिन्न नीति तथा कार्यक्रमहरू समेत बजेटमा समेटिएको भन्दै अध्यक्ष श्रेष्ठले बजेटका यी राम्रा योजनाहरूको व्यावहारिक र प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *