बजेटले आधारभूत वर्गलाई समेट्न सकेन, सामाजिक सुरक्षाबाट पछि हट्न खोज्यो : गुरु बराल
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले समाजको आधारभूत वर्गलाई समेट्न नसकेको टिप्पणी गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सकिएलगतै संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।
सांसद बरालले बजेटमा तल्लो तहका नागरिकको जीवनस्तर उकास्ने कुनै ठोस योजना नभएको दाबी गरे। ‘आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रमहरू बजेटमा समेटिएका छैनन्,’ उनले भने।
त्यसैगरी, बजेटले मध्यम वर्गको दायरा विस्तार गर्ने कुरा उठाए पनि त्यसलाई व्यावहारिक रूप दिन नसकेको उनको भनाइ थियो। बजेटले मध्यम वर्गलाई व्यावसायीकरण गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने र उद्यमशीलता विकास गर्नेतर्फ कुनै पनि ढोका खोल्न नसकेको बरालले उल्लेख गरे।
सांसद बरालले सरकार सामाजिक सुरक्षाको दायित्वबाट समेत पछि हट्न खोजेको आरोप लगाए। बजेटमा उल्लेखित सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाप्रति लक्षित गर्दै उनले भने, ‘सक्नेले छोड्ने, नसक्नेलाई जोड्ने भन्ने नीति ल्याएर सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्न खोजेको देखिन्छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment