शिक्षा र खेलकुद क्षेत्रको रूपान्तरणतर्फ बजेट केन्द्रित रहेको शिक्षामन्त्री पोखरेलको दाबी

डिसी नेपाल
१५ जेठ २०८३ २३:००

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको बजेटले शिक्षा क्षेत्रमा संरचनात्मक रूपान्तरण र खेलकुद क्षेत्रमा सुशासन तथा पूर्वाधार विकासको आधार तयार गर्ने प्रयास गरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले विद्यालयको राष्ट्रिय नक्सांकन, शैक्षिक पूर्वाधारको अडिट, शिक्षक क्षमता परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) र ‘एड टेक’ तयारीको मूल्यांकनमार्फत गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणको आधार तयार गर्न खोजिएको उल्लेख गरेका छन्।

उनका अनुसार विद्यालय केन्द्रित शिक्षा प्रणालीलाई सुदृढ बनाउन छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड रुपैयाँ तथा सामुदायिक विद्यालय पूर्वाधार म्यापिङका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

मन्त्री पोखरेलले अनुसन्धान तथा नवप्रवर्तनमुखी उच्च शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै चिकित्सा, नर्सिङ र सूचना प्रविधि शिक्षामा कोटा विस्तार, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा आकर्षित गर्ने नीति, सीपमूलक शिक्षा तथा पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीमार्फत नयाँ पुस्तालाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार गर्ने लक्ष्य राखिएको बताएका छन्।

उनले एआई र गणितलाई भविष्यको शैक्षिक आधारका रूपमा अघि बढाउने नीति बजेटमा समेटिएको जानकारी दिएका छन्। शिक्षा क्षेत्रका लागि कुल २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गरिएको छ।

यसैगरी खेलकुदतर्फ आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने, प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला तथा ७ सहरमा इनडोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने लक्ष्य राखिएको मन्त्री पोखरेलले बताएका छन्।

विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गरी आवासीय प्रशिक्षणको व्यवस्था, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन नि:शुल्क स्वास्थ्य उपचार तथा राष्ट्रिय खेलकुद पूर्वाधार विस्तारमार्फत खेल क्षेत्रलाई युवा विकास र अर्थतन्त्रसँग जोड्ने नीति लिइएको उनको भनाइ छ। खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी पनि उनले दिएका छन्।

मन्त्री पोखरेलले सीमित स्रोतसाधन र समयचापबीच तयार भएको बजेटलाई सुधारको प्रारम्भिक आधारका रूपमा व्याख्या गर्दै यसलाई ज्ञान, सीप, नवप्रवर्तन र युवा शक्तिमार्फत मुलुकको दीर्घकालीन विकासको आधार निर्माण गर्ने संकल्पका रूपमा प्रस्तुत गरेका छन्। बजेट निर्माणमा संलग्न सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले रूपान्तरणमुखी बजेटको नेतृत्व गरेको भन्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई विशेष धन्यवाद समेत दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *