ओखलढुंगाका दुई दाजुभाइद्वारा सगरमाथा र लोत्से हिमालको सफल आरोहण

डिसी नेपाल
१७ जेठ २०८३ ११:४९

सोलुखुम्बु। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-९ भीरखर्कका दुई सहोदर दाजुभाइले विश्वका सर्वोच्च शिखरहरूमध्ये सगरमाथा र लोत्सेको सफलतापूर्वक आरोहण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेका छन्।

पारिवारिक स्रोतका अनुसार जीवन तामाङले सन् २०२६ मे २५ तारिखका दिन बिहान २:४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। त्यसैगरी, उनका भाई शुभराज तामाङले पनि सन् २०२६ मे २७ तारिख बिहान ७:०० बजे विश्वको चौथो अग्लो हिमाल लोत्सेको सफल आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गरेका छन्।

अत्यधिक प्रतिकूल मौसम, उच्च हिमाली जोखिम र अक्सिजनको चरम अभावका बिच पनि दृढ संकल्पका साथ यी दुवै दाजुभाईले छोटो समयको अन्तरालमा हासिल गरेको यो उपलब्धि पर्वतारोहण क्षेत्रमा निकै प्रशंसनीय मानिएको छ।

८,८४८.८६ मिटर उचाइको सगरमाथा र ८,५१६ मिटर उचाइको लोत्से जस्ता चुनौतीपूर्ण हिमालहरूमा स्थानीय युवाहरूले विजय प्राप्त गरेसँगै खिजिदेम्बा गाउँपालिका र समग्र ओखलढुंगा जिल्लामा उत्सवको वातावरण बनेको छ। लामो तयारी, अब्बल शारीरिक क्षमता र मानसिक दृढताका बलमा प्राप्त भएको यो सफलतालाई स्थानीयवासीले गाउँ र जिल्लाकै ठुलो गौरवको रूपमा लिएका छन्।

जीवन र शुभराजको यो साहसिक कदमले ओखलढुंगा जिल्लाको नाम विश्व पर्वतारोहण समुदायमा थप उचाइमा पुर्‍याउन सहयोग सिद्ध गर्ने विश्वास लिइएको छ।

यो ऐतिहासिक सफलता केवल व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभएर यसले हिमाली पर्यटन, साहसिक खेलकुद र पर्वतारोहण क्षेत्रमा भविष्य खोजिरहेका नयाँ पुस्ताका युवाहरूलाई समेत ऊर्जा र ठुलो प्रेरणा प्रदान गर्ने अपेक्षा स्थानीय स्तरमा व्यक्त गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *