गलत बाटोमा हिँड्दा पार्टी दण्डित भएको टिप्पणी गर्दै धवलशमशेरले घोषणा गरे नयाँ अभियान

डिसी नेपाल
१७ जेठ २०८३ १७:१९

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं निवर्तमान महामन्त्री डा. धवलशमशेर राणाले पार्टीको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो काठमाडौंको एक होटलमा राप्रपाका असन्तुष्ट नेताहरूसँगको सघन छलफलपछि नेता राणाले एक विज्ञप्ति जारी गर्दै नयाँ अभियानको घोषणा गरेका हुन्।

विज्ञप्तिमा उनले राप्रपाको आफ्नो पदीय हैसियतबारे स्पष्ट रूपमा राजीनामाको शब्द प्रयोग नगरे पनि पार्टीको वर्तमान नेतृत्व र बाटोबाट आफूहरू अलग भएको बताएका छन्। देशमा एक विश्वसनीय र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छासहित आफूहरूले आगामी बाटो तय गरेको उनले उल्लेख गरेका छन्।

विगत चार वर्षदेखि राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरे पनि नेतृत्वको सैद्धान्तिक द्विविधाका कारण त्यो सम्भव नभएको उनको स्वीकारोक्ति छ। “विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने र हिँडाउने क्रमले गर्दा नै राप्रपा जनताबाट दण्डित हुनुपर्‍यो,” राणाले विज्ञप्तिमा भनेका छन्।

पार्टीमै रहने सहकर्मीहरू प्रति सद्भाव राख्दै उनले अगाडि भनेका छन्, “राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ, यसमा हाम्रो कुनै वैरभाव छैन। होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिने चाहना हो भने एकजुट भएर अघि बढ्न म सबै राष्ट्रवादी मित्रहरूलाई हार्दिक आह्वान गर्दछु।”

नेता राणाले देशलाई माया गर्ने, मुलुकको समृद्धि चाहने आम राष्ट्रवादी नागरिक एवं नवयुवा पुस्तालाई समेत आफ्नो नयाँ अभियानमा जोडिन अपिल गरेका छन्। राप्रपाभित्र लामो समयदेखि चुलिएको आन्तरिक विवाद र मतभेदकै बीच धवलशमशेरको यो कदम आएपछि राप्रपाको राजनीतिमा नयाँ तरंग पैदा भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *