सीपमार्फत विपन्नलाई उद्यमसँग जोड्दै शुक्लाफाँटा नगरपालिका
कञ्चनपुर । स्थानीय साधनस्रोतको उपयोग गर्दै न्यून आय भएका समुदायलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा-एक उद्यम’ कार्यक्रम सञ्चालन गरेको छ। नगरले परम्परागत सीपलाई आधुनिक बजारको मागसँग जोड्दै आयआर्जन र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम अगाडि बढाएको हो।
नगरपालिकाको उद्यम विकास शाखामार्फत प्रत्येक वडामा सीपमूलक तालिम सञ्चालन गर्न रु दुई लाखका दरले बजेट विनियोजन गरी दक्ष प्रशिक्षकबाट तालिम प्रदान गरिएको उद्यम शाखाका प्रमुख धनबहादुर चौधरीले बताए।
उनका अनुसार वडा नम्बर १ मा बेसार प्रशोधन, वडा नं २ मा दुनाटपरी निर्माण, वडा नं ३ मा सिन्की तथा अचार उत्पादन, वडा नं ४ मा लोपोन्मुख समुदायका परम्परागत पोशाक निर्माण, वडा नम्बर ५ मा सिमेन्ट टायल उत्पादन, वडा नं ६ मा दुनाटपरी निर्माण, वडा नं ८ मा काष्ठकला, वडा नं ९ मा गड्यौँला मल उत्पादन, वडा नं १० मा गुन्द्री बुन्ने तथा वडा नं ११ मा दुनाटपरी निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ।
वडा कार्यालयले स्थानीय आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम छनोट गरी प्रस्ताव गरेपछि सोहीअनुसार तालिम सञ्चालन गरिएको शाखाका प्रमुख चौधरीले जानकारी दिए। तालिम प्राप्त सहभागीलाई सङ्गठित गरी घरेलु तथा लघुउद्यम स्थापना गर्ने योजनासहित नगरपालिका अघि बढेको उनको भनाइ छ।
उद्योग तथा व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिलाई आवश्यक प्राविधिक सहयोगसँगै औजार तथा उपकरणसमेत अनुदानमा उपलब्ध गराउने तयारी गरिएको चौधरीले बताए। उनका अनुसार कार्यक्रममा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको सहभागिता रहेको छ। नगरपालिकाका अनुसार हालसम्म विभिन्न तालिममार्फत १२० जना प्रत्यक्ष लाभान्वित भएका छन्।
नगरपालिकाले स्थानीयस्तरमा उपलब्ध स्रोत, सीप र कच्चा पदार्थलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने तथा वैदेशिक रोजगारको विकल्पका रूपमा स्वरोजगार प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ । स्थानीय तहले सञ्चालन गरेको यस कार्यक्रमले परम्परागत सीपको संरक्षणसँगै आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। रासस







डिसी नेपाल







Facebook Comment