त्याग, समर्पण र कर्तव्यको स्मरण गराउने ‘विश्व बुवाआमा दिवस’ आज मनाइँदै

डिसी नेपाल
१८ जेठ २०८३ ७:०८

काठमाडौं। सन्तानको लालनपालन, उचित शिक्षा, नैतिक संस्कार र उज्ज्वल भविष्य निर्माणका लागि आमाबुवाले जीवनभर पुर्‍याएको अतुलनीय योगदानको सम्मान गर्दै आज विश्वभर ‘विश्व बुवाआमा दिवस’ (वर्ल्ड प्यारेन्ट्स डे) मनाइँदैछ।

आजको विशेष दिनमा सन्तानहरूले आफूलाई जन्म दिने र संसार देखाउने आमाबुवाप्रति विशेष आदर, कृतज्ञता र सम्मान भाव व्यक्त गर्ने गर्दछन्।

बुवाआमा परिवारका बलिया आधारस्तम्भ मात्र नभएर सन्तानका पहिलो शिक्षक, सच्चा मार्गदर्शक र जीवनका सबैभन्दा ठूला प्रेरणाका स्रोत पनि हुन्। उनीहरूले आफ्नो खुसी त्यागेर, अहोरात्र संघर्ष र समर्पण गर्दै सन्तानलाई यो स्थानसम्म पुर्‍याएका हुन्छन्।

आमाबुवाकै त्यही निस्वार्थ माया र त्यागको जगमा उभिएर हरेक सन्तानले जीवनमा सफलताको शिखर चुम्ने अवसर पाउँछन्। त्यसैले यो दिवसले आमाबुवाप्रति दर्शाउनुपर्ने आदर, कृतज्ञता र आफ्नो जिम्मेवारी बोध गराउन समाजमा विशेष र गहिरो महत्त्व राख्छ।

आधुनिक र ब्यस्त जीवनशैलीका बीच बुवाआमासँगको आत्मिक नाता र उनीहरूको महत्त्वलाई सधैँ आत्मसात गर्नु आवश्यक छ। बुवाआमाको सामीप्यता बुझेर उनीहरूको बुढ्यौलीको सहारा बन्नु र आफ्नो जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नु नै हरेक सन्तानको परम कर्तव्य हो।

यो दिवसले सबै सन्तानलाई आमाबुवाप्रतिको सोही कर्तव्य र दायित्वको गहिरो आत्मबोध गराउन सघाउ पुर्‍याउने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *