काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक, १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौं। काठमाडौँ महानगरपालिकाले लिगिएको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। महानगरपालिकाले जेठ १७ गते सञ्चालन गरेको परीक्षाको नतिजा छात्रवृत्ति परीक्षा समितिको आजको निर्णयअनुसार सार्वजनिक गरिएको हो।
परीक्षामा न्यूनतम ४० अंक हासिल गर्ने १४ हजार ५७ जना विद्यार्थीहरू उत्तीर्ण भई प्रारम्भिक योग्यता क्रमको सूचीमा पर्न सफल भएका छन्। यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराइने छ।
परीक्षामा सहभागी विद्यार्थीहरूले नतिजा हेर्नका लागि आफूले अनलाइन फाराम भरेको पोर्टलमा गई आफ्नो रोल नम्बर, जन्म मिति र मोबाइल वा इमेलमा प्राप्त भएको पासवर्ड राख्नुपर्ने व्यवस्था मिलाइएको छ। पोर्टल लगइन गरेपछि विद्यार्थीहरूले आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्नेछन्।
शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा मात्रै भएकाले यसमा चित्त नबुझेमा विद्यार्थीहरूले जेठ २० गते कार्यालय समयभित्र पुनर्योग (री-टोटलिङ) का लागि निवेदन दिन सक्नेछन्। पुनर्योगका लागि विद्यार्थीले प्रवेश पत्रको प्रतिलिपिसहित १ हजार रुपियाँ राजस्व दाखिला गरेर शिक्षा विभागमा निवेदन दिनुपर्नेछ।
पुनर्योगको प्रक्रिया सकिएपछि महानगरले अन्तिम योग्यता क्रमको सूची प्रकाशन गर्नेछ। उक्त अन्तिम सूची सार्वजनिक भएपछि मात्रै शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिसको औपचारिक प्रक्रिया सुरु हुने संयोजक ढकालले जानकारी दिए।
उनका अनुसार यस पटकको परीक्षामा उच्चतम अंक प्राप्त गर्ने एक जना विद्यार्थीले ९२ अंक ल्याएका छन् भने दोस्रो स्थानमा रहेका एक जना विद्यार्थीले ९१ अंक प्राप्त गरेका छन्। त्यसैगरी तेस्रो स्थानमा रहेका ५ जना विद्यार्थीले समान ९० अंक हासिल गरेका छन्।
नतिजाका साथै फाराम भर्दा नाम, लिङ्ग लगायतका व्यक्तिगत विवरण फरक परेको भए वा योग्यता नपुग्ने आरक्षण क्षेत्रमा आवेदन दिई फाराम स्वीकृत भएको खण्डमा त्यस्तो क्षेत्र हटाउनका लागि समेत जेठ २० गतेभित्रै निवेदन दिन सकिने महानगरले जनाएको छ। यद्यपि, आरक्षण क्षेत्र थप गर्न भने पाइने छैन। विवरण सच्याउनका लागि प्रमाण पुग्ने आवश्यक कागजात संलग्न गरी शिक्षा विभागमा आवेदन दिनुपर्नेछ।
चालू शैक्षिक सत्रका लागि छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोट गर्न महानगरले २०८३ वैशाख ३ गते पहिलो पटक सूचना प्रकाशन गरेको थियो। परीक्षा सञ्चालनका लागि कुल ८३ वटा परीक्षा केन्द्रहरू तोकिएका थिए।
छात्रवृत्तिका लागि अनलाइन प्रणालीमार्फत १६ हजार ५४९ छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य गरी कुल २६ हजार ८८८ जना विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएकोमा परीक्षाको दिन २२ हजार २० जना विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए।







डिसी नेपाल







Facebook Comment