वीरगञ्ज नाकाबाट विद्युतीय सवारीको आयातमा ठूलो उछाल: १० महिनामै भित्रिए ४ अर्ब बढीका ईभी
वीरगञ्ज। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै विद्युतीय सवारीसाधन (ईभी) को आयातमा निकै ठूलो वृद्धि भएको छ। यो अवधिमा वीरगञ्ज भन्सार हुँदै कुल ४ अर्ब २ करोड रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा ईभी आयातको मूल्य २ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १४३ दशमलव ६० प्रतिशतले बढेको हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १५ हजार २७१ वटा विभिन्न प्रकारका विद्युतीय सवारीसाधन आयात भएका छन्, जसका कारण प्राप्त हुने राजस्वमा समेत उल्लेखनीय सुधार आएको छ।
गत आर्थिक वर्षको समीक्षा अवधिमा यस नाकाबाट १ अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका ९ हजार ४२ वटा विद्युतीय सवारीसाधन आयात हुँदा ८१ करोड ४७ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।
यस वर्ष विशेषगरी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय कार, जीप र भ्यानको आयात बढेको देखिन्छ। चालु आर्थिक वर्षको १० महिनामा मात्रै १ अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने यस्ता ६५७ वटा चारपाङ्ग्रे सवारीसाधन भित्रिएका छन् र यसबाट सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व उठाएको छ।
जबकी गत आर्थिक वर्षको सोही अवधिमा यो क्षमताका जम्मा ६ वटा मात्र गाडी भित्रिएका थिए, जसको मूल्य २ करोड ६ लाख रुपैयाँ मात्र थियो। चारपाङ्ग्रेसँगै विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको आकर्षण पनि उत्तिकै बढेको छ।
चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरका ८ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन्, जसबाट ३८ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
गत वर्षको यसै अवधिमा ९६ लाख रुपैयाँ मूल्यका ४ हजार ८३४ वटा विद्युतीय दुईपाङ्ग्रे सवारी साधन भित्रिँदा २० करोड १५ लाख रुपैयाँ राजस्व उठेको थियो।
विद्युतीयबाहेक इन्धन र विद्युत् दुवैबाट चल्ने सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयातमा पनि वृद्धि भएको छ। सूचना अधिकारी विष्टका अनुसार चालु आर्थिक वर्षको १० महिनामा कुल ३१ अर्ब ३१ करोड रुपैयाँ मूल्य बराबरका यस्ता सवारीसाधन र पार्टपुर्जा वीरगञ्ज नाका हुँदै भित्रिएका छन्।
यो आयात गत आर्थिक वर्षको तुलनामा मूल्यका आधारमा ९ अर्ब ६५ करोड रुपैयाँ अर्थात् ४४ दशमलव ५८ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब २५ करोड रुपैयाँ मूल्य पर्ने ६२८ वटा परम्परागत जीप, कार र भ्यान भित्रिँदा भन्सार कार्यालयले ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जबकी गत वर्ष सोही अवधिमा १ अर्ब ८१ करोड रुपैयाँ बराबरका ८५५ वटा यस्ता गाडी भित्रिएका थिए।
यसैगरी, चालु आर्थिक वर्षको समीक्षा अवधिमा ७ अर्ब ३२ करोड रुपैयाँ मूल्यका ५१ हजार ४२३ वटा अन-एसेम्बल्ड (कम्युटर पार्टपुर्जाका रूपमा आउने) मोटरसाइकल आयात भएका छन्, जसबाट ७ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ५ अर्ब २१ करोड रुपैयाँ मूल्यका यस्ता मोटरसाइकल नेपाल भित्रिएका थिए।







डिसी नेपाल







Facebook Comment