नेपालले भारतको कहाँ-कहाँ सीमा मिचेको हो, प्रधानमन्त्रीले संसदमै एक-एक इन्चको हिसाब दिनुपर्छ: कांग्रेस सांसद राई

डिसी नेपाल
१८ जेठ २०८३ १४:५२

काठमाडौं। नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले आफू मात्र नभई सम्पूर्ण नेपाली नागरिकको शिर निहुरिएको बताए।

संसद्को विशेष समयमा बोल्दै उनले भने, “आज यो संसद्मा उभिँदा मेरो शिर निहुरिएको महसुस भएको छ। हिजो मात्र यो गरिमामय सदनको रोष्टममा उभिएर प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन, करिब तीन करोड आम नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ।”

उनले प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा उभिएर दिएको उक्त अभिव्यक्ति संसद्को अभिलेखमा दर्ज भइसकेको र नजिरका रूपमा स्थापित भएको उल्लेख गरे। प्रधानमन्त्रीको भनाइप्रति सत्तापक्षका सांसदहरूले ताली बजाएकोप्रति पनि उनले कडा असन्तुष्टि व्यक्त गरे।

“रोष्ट्रममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो– नेपालले पनि भारतको जग्गा मिचेको छ, यो संसद्मा रेकर्ड भएको छ। यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ, जसमा बडो गर्वका साथ सत्तापक्षका माननीयज्यूहरूले बर्बर ताली पड्काउनुभयो। उहाँहरूलाई पनि मेरो प्रश्न छ, अलिकति आत्मग्लानि यहाँहरूलाई पनि हुनुपर्छ,” सांसद राईले आक्रोश पोखे।

सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफ्नो ‘नोट अफ डिसेन्ट’ (अहमति) रहेको जनाउँदै नेपालले भारतको कुन–कुन क्षेत्रमा सीमा मिचेको हो भन्नेबारे संसदमै एक–एक इन्चको हिसाब दिन प्रधानमन्त्रीलाई चुनौती दिए।

उनले अगाडि थपे, “सार्वभौम संसद्को रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ। उहाँ फेरि यही संसद्को रोष्ट्रममा उभिनुपर्छ र नेपालले कहाँ-कहाँ भारतको सीमा मिचेको छ भनेर एक-एक इन्चको हिसाब हामीलाई दिनुपर्छ। हामीलाई हिसाब चाहिन्छ। यो राष्ट्रिय स्वाभिमान र सुरक्षाको विषय हो। भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा फिर्ता दिने?”

प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै परराष्ट्र मन्त्रालयले यसलाई ‘क्रस बोर्डर अकुपेसन’ (सीमापार भोगचलन) सँग जोडेर व्याख्या गरिरहेको भन्दै राईले मन्त्रालयको समेत कडा आलोचना गरे।

“जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ? यति सामान्य ज्ञान त परराष्ट्रमन्त्रीज्यूलाई हुनुपर्ने हो। रोष्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरीत छ,” उनले भने।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको धारणा राखेपछि संसद्देखि सडकसम्म यसको तीव्र आलोचना भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *