संसद्‌मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन

डिसी नेपाल
१८ जेठ २०८३ १७:२८

काठमाडौं । प्रतिनिधि सभा बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने र भौतिक क्षति पुर्‍याउने सांसदहरूमाथि छानबिन गर्न एक समिति गठन गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी गराएका हुन्।

सभामुख अर्यालका अनुसार उक्त समितिलाई घटनाको सत्यतथ्य जाँचबुझ गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। प्रतिवेदन प्राप्त भएपछि ‘प्रतिनिधि सभा नियमावली, २०८३’ को नियम ३३ को उपनियम ४ बमोजिम दोषी सांसदहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे।

‘प्रतिनिधि सभाको मिति २०८३ जेठ १७ गतेको बैठकहरूमा सभाका केही माननीय सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्‍याउने कार्यसमेत गरेको व्यहोरा नियम बमोजिम जानकारीमा आएको छ। यस विषयमा आवश्यक जाँचबुझ गरी ७ दिनभित्र प्रतिवेदन तयार पार्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरिएको जानकारी गराउँछु,’ सभामुख अर्यालले संसद्‌मा गर्दै भने।

यसअघि सभामुख अर्यालले यो विषयलाई लिएर संसद् सचिवालयका कर्मचारीहरूसँग आवश्यक कानुनी एवं प्राविधिक परामर्श गरेका थिए भने संसद्‌मा भएको क्षतिको मुचुल्का समेत तयार पारिएको छ।

आइतबार प्रतिनिधि सभामा ‘प्रतिनिधि सभा नियमावली २०८३’ पारित गर्ने प्रक्रिया चलिरहेको थियो। विपक्षी दलका सांसदहरूले नियमावलीमाथि परेका संशोधनहरूका बारेमा थप छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग राख्दै आएका थिए।

तर, सदनमा दफावार छलफल भई प्रक्रिया अगाडि बढिसकेको भन्दै सभामुखले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरेपछि विपक्षी दलहरू आक्रोशित भएका थिए। त्यसक्रममा विपक्षी सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए भने सांसदहरूबीच भौतिक घम्साघम्सी हुनुका साथै संसद्‌भित्र भौतिक क्षति समेत पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *