नेपाललाई सुरक्षित गन्तव्य बनाउन स्पष्ट उद्धार नियम आवश्यक: सांसद शेर्पा

डिसी नेपाल
१९ जेठ २०८३ १४:०८

काठमाडौं। संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधि सभा सदस्य मिङ्मा शेर्पाले जलवायु परिवर्तनको गम्भीर प्रभाव सगरमाथा क्षेत्रमा मात्र सीमित नरहेर विश्वव्यापी रूपमा फैलिरहेको बताएका छन्।

मंगलबार सिंहदरबारस्थित कानुन समितिको हलमा आयोजित आफ्नो सम्मान कार्यक्रममा बोल्दै सांसद शेर्पाले पछिल्ला वर्षहरूमा नेपालमा मात्र नभई मरुभूमिको देश दुबई जस्तो ठाउँमा समेत अकल्पनीय डुबान हुनु जलवायु परिवर्तनकै परिणाम भएको उल्लेख गरे।

उनले यस पर्यावरणीय चक्रको प्रत्यक्ष र पहिलो असर पर्वतारोहण एवम् हिमाली पर्यटन क्षेत्रमा संलग्न जनशक्ति र स्थानीय समुदायमा परिरहेको भन्दै चिन्ता व्यक्त गरे।

वार्ताका क्रममा शेर्पाले नेपालमा रहेका सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला हिमालहरू नेपालको मात्र नभएर विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएकाले तिनको संरक्षण र सुरक्षित व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

यसई गरी, विगत केही समयअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा चर्चामा आएको ‘फेक रेस्क्यु’ (फर्जी उद्धार) सम्बन्धी नकारात्मक समाचारले नेपालको समग्र पर्यटन क्षेत्रको साखमा गम्भीर धक्का पुर्‍याएको उनले स्मरण गराए।

हिमालमा हुने उद्धार कार्यलाई व्यवस्थित, पारदर्शी र भरपर्दो बनाउन अब ढिला नगरी स्पष्ट नियम तथा कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने टड्कारो आवश्यकता उनले औंल्याए।

नेपालको प्राकृतिक सौन्दर्य र हिमालका बारेमा संसारलाई राम्रोसँग थाहा भए पनि अब नेपाललाई ‘सुरक्षित पर्यटकीय गन्तव्य’ का रूपमा स्थापित गर्न आवश्यक रहेको उनको भनाइ थियो।

विदेशी पर्यटकहरूमा नेपाल पूर्ण रूपमा सुरक्षित छ भन्ने कूटनीतिक र व्यावहारिक विश्वास दिलाउन सकिएमा मात्र आगामी दिनमा पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउन सकिने दाबी उनले गरे।

कार्यक्रमको अन्त्यमा सांसद शेर्पाले आफ्नो सगरमाथा आरोहणका क्रममा नेपालको राष्ट्रिय झण्डा र संघीय संसद्को झण्डा सर्वोच्च शिखरमा फहराउने ऐतिहासिक इच्छा र अभियानमा सहयोग पुर्‍याउने सभामुखसहित सरोकारवाला सबैप्रति हार्दिक धन्यवाद समेत ज्ञापन गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *