वीरगन्जका मेयर सिंह अदालतमा हाजिर : बयान जारी, थुनछेक बहसको तयारी
पर्सा। लिखतसम्बन्धी (नक्कली कागजात) कसुरमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्सामा हाजिर गराई बयान लिन सुरु गरिएको छ। मंगलबार बिहान पर्साको ठोरीबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले मंगलबार बिहान अदालतमा उपस्थित गराएको हो।
मेयर सिंहलाई बिहान करिब ९ बजे अदालतमा उपस्थित गराइएको थियो। सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा सिंहको बयान लिने कार्य यतिबेला जारी रहेको छ।
जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकले कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको पुष्टि गर्दै अब कानुनी प्रक्रिया अगाडि बढ्ने बताए। ‘अदालतमा हाजिर गराइएको छ, अब बयान लिने कार्य सकिएपछि थुनछेक बहस सुरु हुनेछ,’ स्रेस्तेदार मल्लिकले भने, ‘त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानुनी प्रक्रिया अगाडि बढाइनेछ।’
घटनाको वास्तविकता के हो ?
स्थानीय लियाकत अलीको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई मंगलबार बिहान ठोरीबाट नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले जानकारी दिए।
मेयर सिंहमाथि अरूकी छोरीलाई आफ्नो छोरी दाबी गरी नक्कली कागजात खडा गरेर नागरिकता दिलाएको गम्भीर आरोप छ। सोही लिखतसम्बन्धी कसुर मुद्दामा प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो। अदालतमा बयान र थुनछेक बहस सकिएपछि उनलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने वा अन्य विकल्प दिने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ।







डिसी नेपाल







Facebook Comment