सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद जोगियो, एक सांसदले फिर्ता लिइन् हस्ताक्षर

डिसी नेपाल
१९ जेठ २०८३ १७:१८

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलभित्र चुलिएको आन्तरिक विवादका बीच मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। शाहलाई दलको नेताबाट हटाउन हस्ताक्षर गरेकी एक सांसदले आफ्नो समर्थन फिर्ता लिएसँगै उनी संकटबाट जोगिएका हुन्।

मुख्यमन्त्री शाहविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ जना सांसदमध्ये डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएकी हुन्। हस्ताक्षर फिर्ता लिँदै सांसद महराले भनिन्, ‘अहिलेको अवस्थामा सरकार वा संसदीय दलको नेता परिवर्तन गर्नुभन्दा पार्टीभित्रको एकता र आगामी बजेट निर्माण प्रक्रिया प्रमुख विषय हो। त्यसैले मैले हस्ताक्षर फिर्ता लिएकी हुँ।’

यसअघि, कांग्रेसभित्रकै असन्तुष्ट पक्षका बहुमत सांसदहरूले मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउन भन्दै मंगलबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव दर्ता गरिएको थियो।

एक सांसदले हस्ताक्षर फिर्ता लिएसँगै विद्रोही पक्ष अल्पमतमा परेको छ र मुख्यमन्त्री शाहले दलको नेता र मुख्यमन्त्री दुवै पदमा आफ्नो पकड कायम राख्न सफल भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *