मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितद्वारा अदालत अगाडि प्रदर्शन

डिसी नेपाल
१९ जेठ २०८३ १८:५१

जनकपुर। मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले जनकपुरधामस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन्।

विगत १७ दिनदेखि अनिश्चितकालिन आन्दोलनमा उत्रीएका मिटरब्याज पीडितहरुले मंगलबार (आज) विभिन्न नारा लगाउँदै धनुषा जिल्ला अदालत अगाडि सडक अवरुद्ध गर्नुका साथै विरोध प्रदर्शनसमेत गरेका छन्।

सो क्रममा उनीहरुले ‘मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर’, ’सुदखोरलाई कारबाही गर’, ’अदालतको एकलौटी फैसलाको आधारमा पक्राउ गर्न पाईदैन’, ’अदालत/प्रहरी/प्रशासनको दमन बन्द गर’, ’होम्रो माग पूरा गर’, ‘दफा २४९ (क) लागु गर’ लगायतका नारा लगाएका छन्।

रास्वपा नेतृत्वको सरकार निर्माण भएदेखि मिटरब्याज पीडितहरुमाथि पहिले भन्दा बढि दमन हुन लागेको मिटरब्याजविरुद्ध किसान मजदुर नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहले बताए।

उनले प्रधानमन्त्री बालेन्द्र शाह जनकपुर आउँदा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने वाचा गरेपनि हालसम्म उल्टै दमन नै भोग्नु परिरहेको सुनाए।

मिटरब्याजीहरुले १ लाख रकम दिएर तीन लाखको कागज बनाउने गरेको सबैलाई थाहा हुँदाहुँदै अदालतले उनीहरुलाई कारबाही गर्नुको साटो उल्टै पीडितलाई थुन्ने सम्मको आदेश दिनु गलत रहेको अध्यक्ष कुशवाहाको भनाई छ।

उनले अब पनि सरकारले मिटरब्याज पीडितहरुलाई न्याय नदिए सम्पूर्ण पीडितहरु केन्द्रमा गएर अनिश्तिकालिन आन्दोलन गर्नुको विकल्प नहुने जानकारी दिए।

अध्यक्ष कुशवाहाका अनुसार देशभर पाँच लाखभन्दा बढी मिटरब्याज पीडितहरु रहेकोमा धनुषामा मात्र ७० हजार भन्दा बढी पीडितहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *