भ्रष्टाचार मुद्दामा अदालतमा उल्टो बयान दिने साक्षी विरुद्ध अख्तियारको मुद्दा

डिसी नेपाल
१९ जेठ २०८३ १८:५८

काठमाडौं। भ्रष्टाचारसम्बन्धी एक मुद्दामा अदालत समक्ष प्रतिकूल (उल्टो) बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक साक्षी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका-७ का ईश्वरीप्रसाद गौतम विरुद्ध आयोगले आज मुद्दा दर्ता गरेको हो।

चन्द्रबहादुर अधिकारी नाम गरेका व्यक्तिले ऋण उपलब्ध गराइ दिएबापत सेवाग्राहीसँग ५० लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको छ। उक्त घुस प्रकरणको मुद्दामा अख्तियारले ईश्वरीप्रसाद गौतमलाई सरकारी साक्षीका रूपमा अदालतमा प्रस्तुत गरेको थियो।

विशेष अदालतमा मुद्दाको सुनुवाइका क्रममा साक्षी गौतमले अनुसन्धानका क्रममा आयोगमा दिएको बयान र तथ्य विपरीत अदालतमा प्रतिकूल बयान दिएका थिए। उनले अदालतलाई भ्रमित पार्ने र प्रतिवादीलाई सघाउने गरी गलत बयान दिएको आयोगको दाबी छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, सरकारी साक्षी बनेर अदालतमा उल्टो र गलत बयान दिई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेकाले गौतम विरुद्ध कानुन अनुसार कडा कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *