टियु गेटमा ट्राफिकको विशेष चेकिङ, १९ सवारी साधनका चालक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका १९ सवारी साधन तथा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १३ सवारी साधनलाई कारबाही गरेको छ।
काठमाडौंको त्रिभुवन विश्वविद्यालयको गेट नजिक मंगलबार गरिएको विशेष चेकिङका क्रममा ६० सवारी साधन परीक्षण गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटमा समस्या भएका, टायर अत्यधिक खिइएका तथा अन्य यान्त्रिक कमजोरी रहेका १९ सवारी साधन फेला परेका थिए। ती सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
सवारी साधनको यान्त्रिक अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्ने तथा यात्रु र सडक प्रयोगकर्ताको सुरक्षामा असर पर्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि उक्त चेकिङ अभियान सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी साधन नियमित रूपमा परीक्षण गरी आवश्यक मर्मत–सम्भारपछि मात्रै सञ्चालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई आग्रह गरेका छन्।
यस्तै, थानकोटस्थित त्रिभुवन पार्क नजिक गरिएको प्रदूषण परीक्षणका क्रममा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १३ सवारी साधन पनि कारबाहीमा परेका छन्।
वातावरण व्यवस्थापन विभाग, चन्द्रागिरि नगरपालिका र ट्राफिक प्रहरी प्रभाग थानकोटको संयुक्त टोलीले सञ्चालन गरेको चेकिङका क्रममा ती सवारी साधन फेला परेका हुन्।
ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने सवारी साधनका कारण वायु प्रदूषण बढ्नुका साथै मानव स्वास्थ्यमा गम्भीर असर पर्ने र दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने जनाएको छ। त्यसैले सवारी साधनको अवस्था नियमित रूपमा परीक्षण गरी आवश्यक मर्मत–सम्भार गरेर मात्र सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।







डिसी नेपाल







Facebook Comment