मौरिस हर्जोग दौड प्रतियोगितामा २० धावक सहभागी

डिसी नेपाल
१९ जेठ २०८३ २०:५८
म्याग्दी। पहिलो पटक आठ हजार मिटर अग्लो हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविर देखि नारच्याङ गाउँसम्म आयोजना गरिएको मौरिस हर्जोग दौड प्रतियोगितामा २० जना धावकले सहभागिता जनाएका छन्।
अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालयले आयोजना गरेको खुला महिला पुरुष दोस्रो मौरीस हर्जोग दौड प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ छ जनाले सहभागिता जनाएका हुन्।
बुधबार बिहान ६ बजे समुन्द्री सतहदेखि चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा शुरु हुने प्रतियोगिताका सबै सहभागी र प्राविधिक टोली मङ्गलबार आधार शिविरमा पुगिसकेको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए।
पोखराका रोहित पुर्जा, चेतनाथ चालिसे, नितु तामाङ, रोल्पाका आस्मा विक, खोटाङकी निर्मला राई, रुकुमका शक्तिराम बुढा, पञ्चराम बुढा, सोलुखुम्बूका आङ फुर्वा शेर्पा, छिरिङ ओयो, पाँचथरका रमेश लिम्बू, पुष्पा सिर्मा, गोरखाका निराज भट्ट, म्याग्दीका हिमेश बुद्धुजा, काठमाडाँैका मनकुमार रोका, लोकेन राई, अर्जुन राई, रमेश लिम्बू, सनम गुरुङ, जुम्लाका सन्देभा बुढा, मिभु बुढा सहभागी भएका हुन्।
आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दुरीमा हुने दौड प्रतियोगितामा पुरुष र महिलातर्फ विजेतालाई रु एक लाख, उपविजेतालाई रु ६० हजार, तेस्रोलाई रु ३५ हजार र सान्त्वना स्थान हासिल गर्ने तीन/तीन जनालाई रु १०/१० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो।
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ। आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो।
नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *