‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न: अत्यधिक गर्मी र ‘इनडोर हिट’को जोखिमविरुद्ध सचेतना जगाइँदै
काठमाडौं। अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौंको द सोल्टी होटलमा ‘हिट एक्सन डे २०२६’ सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ र यसका सदस्य संस्थाहरूको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो।
विश्वभर पाँचौं संस्करणका रूपमा मनाइएको यस वर्षको ‘हिट एक्सन डे’ विशेष गरी ‘इनडोर हिट’ अर्थात् घरभित्रको गर्मी र त्यसले बन्द संरचनाभित्र निम्त्याउने स्वास्थ्य जोखिमका विषयमा केन्द्रित रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएफआरसीका प्रतिनिधि प्रमुख डेभिड फिसरले जलवायु परिवर्तनका कारण विश्वभर गर्मीको संकट गहिरिँदै गएको बताए।
उनले गरेको अध्ययनअनुसार सन् २०२४ जुनदेखि २०२५ जुनसम्म करिब ४ अर्ब मानिसहरूले पहिलेको तुलनामा कम्तीमा एक महिना बढी अत्यधिक गर्मीको सामना गर्नुपरेको तथ्यांक प्रस्तुत गरे।

गर्मीजन्य मृत्युका तथ्यांकहरू सजिलै ट्र्याक गर्न नसकिने भएकाले यो संख्या अझ बढी हुन सक्ने उनको भनाइ थियो। फिसरले गर्मीका कारण विशेष गरी श्वासप्रश्वास, मुटु र मिर्गौलाका रोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू बढी प्रभावित हुने र यसले हिट स्ट्रोक तथा डिहाइड्रेसन जस्ता समस्या निम्त्याउने चेतावनी दिए।
जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले समुद्रको सतहको तापक्रममा आएको परिवर्तन र विकसित हुँदै गरेको ‘एल निनो’को प्रभावका कारण नेपाललगायत एसियाली देशमा यस वर्षको मनसुनी अवधिमा तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण गरिएको जानकारी दिए।
तातो लहर (लू) का कारण स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले समयमै अनुकूलनका उपाय अपनाउन उनले सबै पक्षलाई आग्रह गरे। त्यस्तै, विपद् व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीले अत्यधिक गर्मीको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र सरकारी तथा मानवीय संस्थाहरूबीचको समन्वित कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले सन् २०२२ देखि सुरु भएको यो दिवसअन्तर्गत रेडक्रसले तातो हावाबाट प्रभावित क्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।
कार्यक्रमका दौरान ‘हिट प्याभिलियन’ मार्फत गर्मीसम्बन्धी सूचना सामग्री, नवप्रवर्तन, फोटो तथा भिडियो प्रदर्शनी गरिएको थियो भने ‘आर्ट कर्नर’मा सहभागीहरूले गर्मीसम्बन्धी सन्देश झल्किने कलाकृतिहरू प्रदर्शन गरेका थिए।
जलवायुविज्ञहरूले यस वर्ष एल निनोका कारण विद्यार्थी, किसान, मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू बढी प्रभावित हुन सक्ने भन्दै अत्यधिक गर्मीबाट बच्न पर्याप्त पानी पिउने, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कने र छायाँयुक्त स्थानमा बसेर पर्याप्त विश्राम गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेका छन्।
कार्यक्रममा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कूटनीतिक नियोग र सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । आयोजकहरूले गर्मीजन्य रोग र मृत्यु न्यूनीकरण गर्दै सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नु नै यस अभियानको प्रमुख लक्ष्य रहेको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment