लुम्बिनी प्रदेश सरकारमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा

डिसी नेपाल
२० जेठ २०८३ १२:०७

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चार जना मन्त्रीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशन र सल्लाहबमोजिम आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारुमगर रहेका छन्।

नेपाली कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

मन्त्रीहरूको राजीनामासँगै एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि अवसर नपाएका र ज्येष्ठ सदस्यलाई प्राथमिकता दिँदै नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको छ।

रिक्त मन्त्री पदका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ।

आगामी साउन १ गतेदेखि मन्त्रालयको सङ्ख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको प्रदेश सरकारमा कांग्रेसले नेतृत्व परिवर्तनको दबाब बढाएको छ।

यद्यपि, मुख्यमन्त्री आचार्यले बजेट ल्याएपछि अर्थात् असार १ गतेपछि मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् भने कांग्रेसका तर्फबाट नयाँ मुख्यमन्त्री को बन्ने भन्ने विषय अझै टुङ्गो लाग्न बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *