महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

डिसी नेपाल
२० जेठ २०८३ १६:०४

पर्वत। जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम सञ्चालन गरेको छ।

बसाइँसराइ रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाइँ सरेर गाउँ आउनेलाई आर्षित गर्न सुरु भएको त्यस कार्यक्रमअन्तर्गत हालसम्म १५ जना परिवार गाउँ फर्किएका गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

त्यसरी गाउँ फर्केका परिवारको सहजताका लागि रु एक लाख अनुदान र सुरुको छ महिनाका लागि आवश्यक खाद्यान्न दिने गरिएको छ।

बढ्दो बसाइँसराइका कारण गाउँ रित्तिनुका साथै जग्गा जमिन बाँझिदै गएपछि यो कार्यक्रमअन्तर्गत अनुदान दिन थालिएको अध्यक्ष भुसालले स्पष्ट पारे।

गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ देखि यस्तो कार्यक्रम लागू गरेको हो। महाशिला गाउँपालिकाका–६ वटै वडाबाट बसाइँ सरेर जानेक्रम पछिल्लो एकदशकयता निकै बढेको छ। गाउँका अधिकांश घर खाली हुन थालेका छन् भने खेतीयोग्य जमिन बुट्यान र झाडीले भरिएको छ।

गाउँमा सडक, खानेपानी, बिजुली, स्वास्थ्य सेवा लगायतको पहुँच बढ्दै गए पनि बसाइँसराइ गरेर जानेक्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागू गरिएको अध्यक्ष भुसालले बताए।

उनका अनुसार, उक्त रकम घर बनाउनका लागि अनुदान दिइएको हो। जसको घर छैन वा जीर्ण बनेको छ, त्यस्तालाई घर मर्मत गर्न वा नयाँ बनाउनका लागि प्रतिपरिवार रु एक लाख अनुदान दिन थालिएको हो।

बसाइँसराइ गरेर गाउँ फर्केका परिवारले गरेको खेतीबाट उत्पादन लिन कम्तीमा छ महिनाको समय लाग्दछ। छ महिनापछि आफैँले उत्पादन गरेको अन्नबालीले खान पुग्ने भए पनि उत्पादन नहुनेबेला गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउँदै आएको छ। परिवारको सङ्ख्याअनुसार चामल, दाल, तेल, तरकारीलगायत आवश्यक खाद्यान्नका लागि सहयोग गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए।

उक्त अनुदानले सहज रुपमा गाउँमा जीवनयापनको सुरुआत गरोस् भन्ने पालिकाको उद्देश्य रहेको पाण्डेयले बताए।

पालिकाका अनुसार लामो समयदेखि बसाइँ सरी गएकाले पनि गत वर्षदेखि गाउँ फर्केर फलफूलखेती गर्न थालेका छन्। बाँझो जमिन उपयोग गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा निःशुल्क बिरुवासहित बिरुवा रोप्ने खर्च उपलब्ध गराएपछि उनीहरु गाउँ फर्किएर फलफूलखेती गरेका हुन्।

महाशिलाका अधिकांश नागरिक पोखरा, चितवन, नवलपुर, भैरहवालगायत ठाउँमा बसाइँ सरेर गएका छन्। त्यहाँका चार वटा वडाका १५ घरपरिवारका ३२ जना गाउँपालिकामा फर्केर आएका हुन्। उनीहरुलाई वडा कार्यालयको सिफारिस र गाउँ कार्यपालिकाको निर्णयबमोजिम अनुदान रकम वितरण गर्ने तयारी भइरहेको अध्यक्ष भुसालले बताए।

पालिकाका अनुसार पछिल्लो एक वर्षमा गाउँपालिकाबाट ९३ परिवारका ३२५ जना भने गाउँपालिकाबाट बसाइँसराइ गरेर गएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *