राप्रपामा धवलशम्शेरको विद्रोह: अध्यक्ष लिङ्देनको विज्ञप्तिलाई ‘भ्रम’ भन्दै नयाँ राष्ट्रवादी शक्ति निर्माणको घोषणा

डिसी नेपाल
२० जेठ २०८३ १७:४०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेता डा. धवलशम्शेर राणाले औपचारिक रूपमा पार्टी परित्याग गरी नयाँ राजनीतिक दल गठनको प्रक्रिया अगाडि बढाएका छन्।

राप्रपा छाडेर नयाँ दल गठनको तयारीमा लागेका पञ्च नेता राणाले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पार्टीमै फर्कन र महाधिवेशनमा जुट्न गरेको सार्वजनिक आह्वानलाई ‘भ्रम र शब्दजाल’ को संज्ञा दिँदै अस्वीकार गरिदिएका छन्।

बुधबार एक विशेष प्रतिवाद विज्ञप्ति जारी गर्दै राणाले राप्रपाको केन्द्रीय समितिले आफ्नो वैधानिक हैसियत समेत गुमाइसकेको दाबी गरेपछि राप्रपाभित्रको संगठनात्मक संकट थप गहिरिएको छ।

विगत लामो समयदेखि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका राणाले राप्रपाको वैधानिक म्याद समाप्त भइसकेकाले अब पुरानो बाटोबाट अगाडि बढ्न नसकिने स्पष्ट पारेका छन्। राप्रपाले २०७८ सालमा एकता महाधिवेशन सम्पन्न गरेको थियो।

पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल चार वर्षको रहने व्यवस्था छ। विशेष परिस्थिति उत्पन्न भएमा विधानकै परिधिभित्र रहेर एक वर्षसम्म कार्यकाल थप गर्न सकिने प्रावधानअनुसार गत मंसिरमा केन्द्रीय समितिको म्याद ६ महिनाका लागि थपिएको थियो।

राणाका अनुसार सो थपिएको अतिरिक्त ६ महिनाको समयावधि पनि जेठ १९ गते पूर्ण भइसकेको छ। निर्धारित समयभित्र महाधिवेशन गर्न नसकेको र थपिएको अवधि समेत गुज्रिसकेकाले राप्रपाले पूर्ण रूपमा वैधानिकता गुमाइसकेको जिकिर राणाले आफ्नो विज्ञप्तिमा गरेका छन्।

संगठनात्मक संकट टार्न र समयमै महाधिवेशन सम्पन्न गर्नका लागि एक वर्ष पहिले नै उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा महाधिवेशन सुझाव समिति गठन गरिएको थियो। सो समितिमा राणा आफैं पनि सदस्यका रूपमा रहेका थिए।

उक्त समितिले मुलुकको आम निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन ढिला भएमा मंसिरमा र छिटो भएमा जेठ महिनाभित्रै जसरी पनि महाधिवेशन सम्पन्न गर्न कार्यसम्पादन र केन्द्रीय समितिलाई लिखित सुझाव दिएको थियो। सोही सुझावका आधारमा केन्द्रीय समितिले ६ महिनाको आयु बढाए पनि नेतृत्वले महाधिवेशन गराउनेतर्फ कुनै चासो नदेखाएको आरोप राणाले लगाएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले राणालाई नै महाधिवेशनको तालिका तयार पार्ने जिम्मेवारी दिइएको तर उनी आफ्नो पदीय उत्तरदायित्वबाट पन्छिएर भागेको भनी लगाएको आरोपको राणाले कडा शब्दमा खण्डन गरेका छन्।

उनले दर्जनौँ पटक औपचारिक तथा अनौपचारिक बैठकहरूमा दिएका रचनात्मक सुझाव र सल्लाहलाई नेतृत्वले कहिल्यै स्वीकार नगरेको र गरिएका वैधानिक निर्णयहरू समेत कार्यान्वयन नगरेको गुनासो पोखेका छन्।

आफ्ना कमी-कमजोरी र अक्षमतालाई ढाकछोप गर्न अध्यक्षले आफूमाथि दुष्प्रचार गरेको भन्दै राणाले यसलाई अर्काको थाप्लोमा दोष थोपरेर आफू चोखो बन्ने निर्लज्ज र गैरजिम्मेवार शैलीको संज्ञा दिएका छन्।

नेतृत्वको यही आत्मकेन्द्रित प्रवृत्ति र अहंकारका कारण गत निर्वाचनमा पार्टीले आफ्नो राजनीतिक शाख मात्रै नगुमाएर वैचारिक मूल्य-मान्यता तथा सैद्धान्तिक आधार समेत धरापमा पारेको उनको ठहर छ।

गलत नीतिकै कारण राप्रपा जनताबाट तिरस्कृत हुने अवस्थामा पुगेको र पार्टीका सयौँ इमानदार साथीहरूले घर छोड्नु परेकाले अहिले राप्रपा एउटा ‘मक्किएको र अलपत्र परेको घर’ जस्तो मात्र बाँकी रहेको राणाले टिप्पणी गरेका छन्। नेतृत्व तहमा चरम अविश्वासको संकट पैदा भएकाले अब राप्रपाको मार्गबाट राष्ट्रवादी लक्ष्यमा पुग्न असम्भव प्रायः रहेको उनको निष्कर्ष छ।

पार्टीभित्रका पुराना राष्ट्रवादी शक्ति, समूह र अभियानहरूलाई अध्यक्ष लिङ्देनको भ्रमपूर्ण शब्दजालमा नपर्न आग्रह गर्दै राणाले देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता औंल्याएका छन्।

उनले राप्रपाको भ्रमबाट मुक्त भई सम्पूर्ण राष्ट्रवादी मनहरूलाई आपसी मेल र एकताको नयाँ अभियानमा समाहित हुन हार्दिक अपिल गरेका छन्।

निस्वार्थ भावले देश र जनताको हित अनुकूल चल्ने, प्रजातान्त्रिक मूल्य र मान्यता बोकेको तथा आफ्नो लक्ष्यप्रति इमानदार एवं विश्वसनीय रहने नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि राणाले देशव्यापी रूपमा नयाँ मोर्चा र दल गठनको आह्वान गर्दै आफ्नो राजनीतिक यात्राको नयाँ दिशा तय गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *