कोरियाली प्रायद्वीपमा पुनः तनाव: उत्तर कोरियाद्वारा अत्याधुनिक युरेनियम संवर्धन संयन्त्र सार्वजनिक
प्योङयाङ। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप बलियो बनाउने उद्देश्यका साथ आणविक बमका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ।
राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्ने आफ्नो लक्ष्यलाई पुनः दोहोर्याएका छन्। यस कदमले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्ता र तनाव अझ बढाएको छ।
दक्षिण कोरियाली सेनाले यस स्थललाई युरेनियम संवर्धन संयन्त्रको रूपमा मूल्यांकन गरेको छ। दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी राख्न संयुक्त राज्य अमेरिकासँग नजिकको समन्वय भइरहेको बताए पनि उक्त स्थानबारे विस्तृत विवरण भने खुलाएको छैन।
परिष्कृत प्रविधि र बढ्दो क्षमता
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार यस नयाँ सुविधामा ‘अझ परिष्कृत प्रविधि’ प्रयोग गरिएको छ। संयन्त्रको ठ्याक्कै स्थान, उत्पादन क्षमता वा सञ्चालन मिति गोप्य राखिए पनि सार्वजनिक तस्बिरहरूमा हतियार-स्तरको युरेनियम उत्पादनका लागि प्रयोग हुने सेन्ट्रिफ्युजहरूले भरिएको एउटा ठूलो हल देखिन्छ।
केसीएनएले उत्तर कोरियाको हतियार-स्तरको आणविक सामग्री उत्पादन क्षमता पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको दाबी गरेको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
नेता किमले बुधबार उक्त आणविक केन्द्रको भ्रमण गरी त्यहाँको सञ्चालन अवस्था र दीर्घकालीन उत्पादन योजनाबारे जानकारी लिएका थिए। भ्रमणका क्रममा उनले देशको आणविक प्रतिरोध क्षमता गुणस्तर र परिमाण दुवै हिसाबले सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले अमेरिका र दक्षिण कोरियातर्फ लक्षित गर्दै उत्तर कोरियाले ‘सबैभन्दा हिंसक शत्रुहरू’ सँग सामना गरिरहेको र अमेरिका नेतृत्वको सुरक्षा चुनौती नै आणविक क्षमता बढाउनुको मुख्य कारण भएको बताएका छन्।
विस्तारको निरन्तरता र अन्तर्राष्ट्रिय आकलन
उत्तर कोरियाले सेप्टेम्बर २०२४ मा अर्को गोप्य युरेनियम संवर्धन केन्द्र सार्वजनिक गरेको दुई वर्षभन्दा कम अवधिमा यो नयाँ खुलासा गरेको हो।
सन् २०१० मा अमेरिकी आणविक विज्ञहरूलाई योङब्योनस्थित प्रमुख आणविक परिसर अवलोकन गराएदेखि नै उत्तर कोरियाले यस्ता सुविधाहरू सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ।
सन् २०१७ यता कुनै आणविक परीक्षण नगरे पनि उत्तर कोरियाले आणविक हतियार बोक्न सक्ने विभिन्न प्रकारका अत्याधुनिक क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्र बनाएको छ। तीमध्ये केही मिसाइलहरू अमेरिकी मुख्य भूमिसम्म पुग्न सक्ने क्षमताका रहेको दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसार उत्तर कोरियाको आणविक भण्डार हाल १०० भन्दा बढी हतियारसम्म पुगिसकेको हुन सक्छ र उसले प्रत्येक वर्ष थप छ देखि १८ वटासम्म आणविक हतियार उत्पादन गर्न सक्ने अनुमान छ।
दक्षिण कोरियाका अधिकारीहरूका अनुसार उत्तर कोरियाले योङब्योनसहित कम्तीमा चारवटा युरेनियम संवर्धन केन्द्रहरू नियमित रूपमा सञ्चालन गरिरहेको छ।
कूटनीतिक गतिरोध र बढ्दो चिन्ता
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीचको उच्चस्तरीय वार्ता विफल भएपछि उत्तर कोरिया संवादभन्दा आफ्नो आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढी केन्द्रित भएको विश्लेषकहरू बताउँछन्।
यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले पनि उत्तर कोरियाका आणविक केन्द्रहरूमा गतिविधि उल्लेखनीय रूपमा बढेको पुष्टि गरेका छन्।
एजेन्सीले उत्तर कोरियाको आणविक कार्यक्रमसँग सम्बन्धित विभिन्न स्थलहरूमा ‘द्रुत वृद्धि’ देखिएको तथ्य अवलोकन गरेको छ, जसले प्योङयाङ आफ्नो आणविक शस्त्रागारलाई अझ व्यापक बनाउने दिशामा दृढतापूर्वक अघि बढिरहेको संकेत गर्दछ।







डिसी नेपाल







Facebook Comment