९ करोड बजेट निकासा भएसँगै गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य फेरि सुरु

डिसी नेपाल
२१ जेठ २०८३ १३:५२

चितवन। लामो समयदेखि रोकिएको चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य फेरि सुरु भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासा हुन ढिलाइ भएपछि निर्माण कम्पनीले एक महिनादेखि काम रोकेको थियो।

हालै प्रदेश सरकारबाट ९ करोड रुपैयाँ निकासा भएसँगै रंगशाला निर्माणले फेरि गति लिएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए।

महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यका अनुसार निर्माण कम्पनीलाई नियमानुसार बिल बमोजिमको भुक्तानी भइसकेको छ।

गौतमबुद्ध रङ्गशालाको बाँकी काम पुरा गर्ने जिम्मा हिमालयन कालिञ्चोक बिबिआर जेभीले पाएको छ। विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गतेभित्र काम सम्पन्न गर्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

हालसम्म रंगशालाको कुल ५५ प्रतिशत काम पूरा भइसकेको छ भने आगामी पुस २२ गतेभित्रै निर्माण सक्नुपर्ने म्याद तोकिएको छ।

सुरुआती चरणमा धुर्मस-सुन्तली फाउण्डेशनले जनस्तरबाट आर्थिक संकलन गरेर बनाउन थालेको यो रंगशाला ऋण र बजेट अभावका कारण अलपत्र परेपछि भरतपुर महानगरपालिकाले बोलपत्र (टेन्डर) आह्वान गरी आफैं अग्रसरता लिएर काम अघि बढाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *