‘Waiting for death’ टिकटक आईडी चलाउने १६ वर्षीया रियाको सर्पदंशबाट मृत्यु

डिसी नेपाल
२१ जेठ २०८३ १४:४८

काठमाडौं । कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोलकी १६ वर्षीया रिया बर्माको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। सामाजिक सञ्जाल टिकटकमा ‘waiting for death’ (मृत्युको पर्खाइ) नामको आईडी चलाउँदै आएकी बर्मालाई बुधबार मध्यरातमा आफ्नै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो।

पारिवारिक स्रोतका अनुसार उनलाई सर्पले टोकेलगत्तै उपचारका लागि तत्काल कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लगिएको भए पनि अस्पताल पुर्‍याउनु अघि नै उनको मृत्यु भइसकेको चिकित्सकहरूले घोषणा गरेका थिए। तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट भर्खरै एसईई उत्तीर्ण गरेकी रियाको कक्षा ११ मा अध्ययन गर्ने सपना यसै घटनाका कारण अधुरो बनेको छ।

आफ्नो टिकटक प्रोफाइलको नाम नै ‘waiting for death’ राखेकी रियाको यसरी अल्पायुमै मृत्यु हुनुलाई धेरैले एउटा दुःखद संयोगका रूपमा लिएका छन्। मृतक रिया आफ्ना आमाबाबुको एक्लो सन्तान थिइन्। जिल्ला प्रहरी कार्यालयका अनुसार कपिलवस्तु अस्पतालमा शवको पोस्टमार्टम गरिसकिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *